May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

‘रेड जोन’बाट आउने क्रम बढेसँगै स्थानीयमा कोरोना त्रास

सोलुखुम्बु – नेपाल सरकारले असोज १ गतेबाट लामो दूरीमा यातायात सञ्चालन गर्न अनुमति दिएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना संक्रमण त्रास बढेको छ।

अहिले सडक तथा हवाई मार्ग हुँदै देशको जुनसुकै क्षेत्रबाट निर्वाध रुपमा नागरिकहरू आउने क्रम बढेकाले यहाँका स्थानीयमा त्रास बढेको हो। साविक समयमा शहरबाट नयाँ मान्छे आएको जानकारी पाउने बित्तिकै खबर सोध्न र कोसेली बुझ्न झुम्मिने छिमेकीहरू अहिले परपरै भाग्ने गरेका छन्। अहिले न त कोसेलीको आश छ, न त नयाँ खबर बुझ्ने इच्छा ! शहरबाट आउनेसँग सम्पर्कमा जाँदा कोरोना संक्रमण हुनसक्ने भएकाले कोसेली त के, भेट्नसम्म नपाए हुन्थ्यो भन्नेहरू बढेका छन्‌।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कलाई हेर्दा असोज १ गतेदेखि बुधबार बिहानसम्म सडक मार्ग हुँदै एक हजार नौ सय २३ जना जिल्ला भित्रिएका छन्। ट्राफिक प्रहरी इन्चार्ज तथा सहायक प्रहरी निरिक्षक कृष्ण कटुवालका अनुसार उनीहरू तीन सय ९५ वटा सुमो र एक सय ५० वटा बसमार्फत जिल्ला भित्रिएका हुन्। जिल्ला भित्रिएका नागरिकको न त पीसीआर परीक्षण गरिएको छ, न त क्वारेन्टिनमा राख्ने र बस्ने स्पष्ट निर्देशन नै जारी गरिएको छ। जसले गर्दा जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन्। नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको सख्या बढदै जाँदा यातायात सञ्चालन गरिएकाले गाउँबस्तीमा समेत कोरोना फैलनसक्ने नेचासल्यान गाउँपालिकाका हिम बहादुर बस्नेतको चिन्ता छ।

सुरुवाती चरणमा स्थानीय सरकारले बाहिरी जिल्लाबाट आएका नागरिकहरूलाई क्वारेन्टिनमा राख्ने, आवागमनमा कडाई गर्ने, सीमा नाकामा चेकजाँच गर्ने गरेको भएपनि अहिले कति नागरिक गाउँपालिका भित्रिए भन्ने समेत तथ्याङ्क राख्न सकिएको छैन। गाउँघरमा आएका नागरिक समेत खुला स्थानमा हिँडडुल गर्दा कोरोना संक्रमण भयावह स्थितीमा पुग्ने बस्नेतको अनुमान छ।

जिल्ला भित्रिने मूख्य नाका सोलु दुधकुण्ड नगरपालिका पत्ताले भएपनि नगरपालिका सँग भने के कति नागरिक जिल्ला भित्रिए भन्ने तथ्याङक छैन।

शीर्ष समाचार

धेरै पढिएको