March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार
KN hd tv

नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्: निगम

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ।

कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्ट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो। निगमले विदेशी पाइलटलाई धेरै तलब सुविधा दिएको भनी विभिन्न सञ्चारमाध्यममा तथ्यहीन र आधारहीन समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरी पाइलटको सेवासुविधासम्बन्धी समाचारको खण्डन गरेको छ।

केही दिनयता अनलाइन, प्रिन्ट संस्करण तथा टेलिभिजनमा स्वदेशी पाइलटलाई कम तलब र विदेशीलाई धेरै तलब दिएको भन्दै समाचार सार्वजनिक भएको थियो। साथै स्वदेशीलाई कम उडान दिएर विदेशीलाई धेरै उडान दिएको भन्ने समाचारप्रति पनि निगमले आपत्ति जनाएको छ। निगमले कोभिड–१९ महामारीको विषम परिस्थितिमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन र विभिन्न देशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउन नेपाली तथा विदेशी पाइलटहरूको महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ।

जुलाई (साउन) महिनाको तथ्याङ्कअनुसार नेपाली पाइलटले न्यूनतम ५ लाख २९ हजार १८७ रुपैयाँ बुझेका छन्। त्यही समयमा विदेशी पाइलटले ४ लाख ८० हजार मात्र बुझेका छन्।

निगमले जारी गरेको विज्ञप्तीमा २०७६ चैतदेखि विदेशीका हकमा ५० देखि ६० प्रतिशतसम्म सेवा सुविधा एवम् पारिश्रमिक कटौती गरिएको, करार अवधि समाप्त भएका सात जना विदेशी पाइलटको करार सेवा नवीकरण नगरिएको र हाललाई न्यूनतम सङ्ख्यामा उडानहरू भर्न सक्ने गरी ६ जनामात्र विदेशी पाइलट राखिएको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको