धनगढीका सुरेश विश्वकर्मा नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै
कैलाली – धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले नर्सरी व्यवसायलाई आम्दानीको मुख्य स्रोत बनाउँदै आएका छन्। करिब ५० लाख लगानी गरिसकेका उनले यो व्यवसायबाट मासिक ४० हजार बचत गर्दै आएका छन्।
केही वर्ष काठमाडौंमा बिरुवा सम्बन्धी कम्पनीमा काम गरेर अनुभव लिएका विश्वकर्माले वार्षिक १ लाख ५० हजार तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिएर नर्सरी सञ्चालन गरेका हुन्।
व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीको शिक्षादीक्षा खर्च धान्दै आएका उनले तीन जना कामदारलाई मासिक १२ हजार तलब दिँदै आएका छन्।
‘यो व्यवसाय अन्य व्यवसायभन्दा जोखिमयुक्त छ,’ उनले भने, ‘वातावरण प्रतिकूल हुँदा बिरुवा कुहिने, रोग लाग्ने समस्या आउँछ, जसले गर्दा घाटा पनि हुन सक्छ।’
विदेश जानु मात्र नभई स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने सोचले व्यवसाय थालेको बताउने विश्वकर्माले झापा, विराटनगर, इटहरी र कञ्चनपुरबाट विभिन्न जातका फलफूल र शो-प्लान्ट ल्याएर बिक्री गर्दै आएका छन्। केही बिरुवा भने आफ्नै नर्सरीमा उत्पादन गर्छन्।

प्रतिकृया दिनुहोस्