June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

आलु बेचेर म्याग्दीमा ६ करोड रुपैयाँ भित्रियो

म्याग्दी – गत आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात गरेर ६ करोड रुपैयाँ भित्रिएको छ। जिल्लाको कुल खेतीयोग्य ५ सय ९३ हेक्टरमा ३ हजार ८९५ टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए।

‘म्याग्दी आलुमा आत्मनिर्भर छ, आलुखेती गर्ने किसानको संख्या हरेक वर्ष थपिँदै गएको छ,’ पाण्डेले भने। वर्षेनी ६ करोड रुपैयाँबराबरको आलु जिल्लाबाट निर्यात हुने गरेको उनले बताए। उनका अनुसार जिल्लामा उत्पादन हुने गरेकोमध्ये ७० प्रतिशत आलु जिल्ला बाहिर खपत हुने गरेको छ। म्याग्दीलाई आलु जोन बनाउन उपयुक्त रहेको अधिकृत पाण्डेको भनाई छ। जिल्लाको माथिल्लो क्षेत्रमा उत्पादन हुने आलु पोखरा र काठमाडौंसम्म बजार रहेकाले किसानले खेतबारीबाटै बिक्री गर्ने गरेका छन्।

म्याग्दीमा प्रतिहेक्टर १२.७ टन आलु उत्पादन हुन्छ। हिमाली र माथिल्लो क्षेत्रमा लगाउने गरिएको बर्खे आलु पछिल्लो समय तल्लो क्षेत्रमा समेत लगाउन थालिएको छ।  अनुकूल माटो भएको ठाउँमा राष्ट्रिय औषध उत्पादकत्व १३.५ टन प्रतिहेक्टर नै उत्पादन हुने गरेको केन्द्रले जनाएको छ। प्रतिकेजी ५० देखि १ सय रुपैयाँसम्म बिक्री हुन्छ। घरायसी र स्थानीय बजारमा विक्री हुने आलुको तथ्याङ्क कार्यालयमा उपलब्ध छैन्।

आलु निर्यातबाट एउटै गाउँमा तीन करोड रुपैयाँसम्म भित्रिएको केन्द्रले जनाएको छ।  जिल्लाको अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगा गापाको पाखापानी, मंगला गापाको हिँदी आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ। जिल्ला भित्रका सबै ६ वटै स्थानीय तहमा घरायसी बाहेक निर्यात गर्ने गरी आलु उत्पादन हुने गरेको छ। 

शीर्ष समाचार

धेरै पढिएको