October 19, 2026, Monday
KN hd tv

लगातारको वर्षाले कपिलवस्तुमा तरकारीखेती सखाप, किसान चिन्तित

कपिलवस्तु – कपिलवस्तुको बुद्धभूमि-१० का बहराची केवटले एक बिगाहामा तरकारी लगाएका थिए। मौसम अनुकूल भएको भए दशैंअघि नै उनले तरकारी बेच्न पाउँथे।

तर, यो पटक पानी लगातार परेपछि खेतमा लगाएका काउली, बन्दा, टमाटर, खुर्सानी, ब्रोकाउली लगायतका बिरुवा सखाप भएका छन्। पछिल्ला दुई दिनसम्म परेको ठूलो वर्षाले त वर्षदिनसम्मका लागि उनले रोपेको तरकारीखेती नै नष्ट गरिदिएको छ।  ‘लकडाउन सुरू भएदेखि नै मारमा परेको छु। पहिले फलेका तरकारी कोरोनाका कारण तरकारी सस्तोमा बेच्नुपर्‍यो। यो पटक सलहले पनि आधाजति तरकारी खाइदियो।

अहिले फेरि पानीले सबै फसल नष्ट गरिदिएको छ, लगानी सबै खेर गयो,’ केवट भन्छन्‌, ‘चाडपर्वको बेलामा परेको विपतले सबै कृषकको सपना चकनाचुर पारेको छ।’

लोहरौलाका कृष्ण मोहन केवट पनि कृषिकर्ममै निर्भर छन्‌। गैर सरकारी संस्थाको जागिर छाडेर उनले तरकारी खेती, माछा र कुखुरापालन थालेका थिए। यही बीचमा कोरोना महामारी नियन्त्रण गर्न लकडाउन लगाइयो। हुर्किएका कुखुरा खोरमै रहन थाले।

प्रतिगोटा एक सय रुपैयाँमा बेच्दा उनलाई कम्तिमा तीन लाख रुपैयाँ घाटा त लागेको थियो नै, बारीमा लगाएको तरकारी पनि बर्खेझरीले मासिदिएपछि उनी यतिखेर दु:खी देखिन्छन्‌।  लगातार दुई दिनसम्म पानी पर्दा बुद्धभूमि र कपिलवस्तु नगरपालिकामा तरकारी खेती सखाप भएको छ।

तरकारी जोनका अध्यक्ष रमेश केवट भन्छन्, ‘जोनभित्र ४१० हेक्टरमा तरकारी खेती गरिएको हो। करिब पाँच सय कृषकले बन्दा, काउली, ब्रोकाउली, खुर्सानी, टमाटर, काँक्रा, मुला लगायतका तरकारी लगाएका थिए। उत्पादन दिनुअघि नै बारीमै तरकारीका बेर्ना नष्ट हुँदा कृषकको लगानी र मेहनत खेर गएको छ।’

शीर्ष समाचार

धेरै पढिएको