वुमन्स डे टी-२० कप: नेपाल हङकङसँग २ रनले पराजित
काठमाडौँ — युगाण्डामा जारी वुमन्स डे टी–२० कपमा नेपाल हङकङसँग २ रनले पराजित भएको छ। सोमबार भएको खेलमा हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् भने पूजा महतोले १९, बिन्दु रावलले १४ र साना प्रविनले १० रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो। हङकङका कप्तान नताशा माइल्सले ३५ रन र मारिको हिलले २१ रनको योगदान दिए।
बलिङतर्फ नेपालका इन्दु बर्मा र इश्वरी विष्टले समान २-२ विकेट लिए भने पूजा महतो र रचना चौधरीले एक-एक विकेट लिए।
नेपालले सिरिजअन्तर्गत खेलेका ३ खेलमध्ये १ जित र २ हार बेहोरेको छ भने हङकङले ३ खेलमा २ जित र १ हार दर्ता गरेको छ। नेपालले मार्च १२ मा नामिबियासँग, मार्च १३ मा युगाण्डासँग र मार्च १४ मा हङकङसँग खेल्नेछ। मार्च १६ मा अंक तालिकाको शीर्ष दुई टिम फाइनल खेल्नेछन् भने तेस्रो र चौथो स्थानका टिमबीच प्लेअफ हुनेछ।

प्रतिकृया दिनुहोस्