June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

वैकल्पिक विधि अपनाएर बागलुङमा विद्यार्थी पढाउन शुरु

बागलुङ – कोरोना महामारीका कारण अध्ययन-अध्यापन प्रभावित भएपछि बागलुङका पालिकाहरूले आ-आफ्नै तरिकाले वैकल्पिक सिकाई शुरू गरेका छन्‌। 

इन्टरनेट असुविधाका कारण अनलाइन कक्षा चलाउन पनि नसकेपछि विद्यालयहरूले टोल शिक्षा, घुम्ती विद्यालय र आंशिक कक्षा सञ्चालनमा ल्याएका हुन्‌। अभिभावक र स्थानीय सरकारसँगको समन्वयमा विद्यालयहरूले सिकाइका लागि उपयुक्त विधिहरूको प्रयोग गरिरहेका छन्। गलकोट नगरपालिका-८ को शिव माध्यमिक विद्यालयले ११ वटा टोलमा वैकल्पिक शिक्षा अभियान नै चलाएको छ।

विद्यालयले बालबालिकाको चाप घटाउन ११ टोल छानेको थियो। स्कुलसम्म आउजाउ गर्न लामो बाटो हिँड्नुपर्ने विद्यार्थीलाई घरनजिकै कक्षा चलेपछि सहज भएको छ। विद्यालयका प्रधानाध्यापक हरि चालिसेले शिक्षक र व्यवस्थापन समितिमा आफूले योजना सुनाएपछि सहमति जुटेको र गत असारबाटै यी विधिमार्फत धमाधम पढाउन थालिएको जानकारी दिए। बडिगाड गाउँपालिका-१ को त्रिभूवन माध्यमिक विद्यालयले पनि असारदेखि नै टोल शिक्षा चलाउँदै आएको छ। गाउँपालिका सिल भएको बेलाबाहेक कक्षा चलिरहेको प्रअ ढालमणि भण्डारीले बताए।

‘शैक्षिकशत्र खेर जान नदिनका लागि यो विधि ल्याइएको हो,’ उनले भने, ‘परीक्षा पनि लिन भनिएको रहेछ, हामीले आन्तरिक रुपमा पनि तयारी गरेका थियौं।’ पालिकाका अन्य विद्यालयमा भने अझै अन्यौल रहेको उनले जानकारी दिए। जिल्लाका अधिकांश विद्यालयहरूमा महामारीका बेला कसरी विद्यार्थीलाई पढाउने भन्नबारे अन्योलकै स्थिति कायम छ।

शिक्षा मन्त्रालयले असोज १ देखि लागू हुने गरी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ। उक्त निर्देशिकामा ती विद्यालयले झै कक्षा चलाउन भनिएको छ। सोहीअनुसार परीक्षासमेत लिने व्यवस्था गरेकोले अब सबै विद्यालयलाई अनिवार्य टोल शिक्षा संचालन गर्ने बाध्यता भएको छ। 

जैमिनी नगरपालिकाले हरेक टोलमा रहेका प्राथमिक विद्यालय भवनमा सबै बालबालिका जम्मा पारेर पढाउने व्यवस्थापन गर्ने भनेको छ।

शीर्ष समाचार

धेरै पढिएको