October 25, 2024, Friday
KN hd tv

केसीको जीवन बचाउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई आग्रह

काठमाडौं – चिकित्सा शिक्षा सुधारको लागि सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको माग राखी अनशनरत गोविन्द केसीका जीवन बचाउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई आग्रह गरेको छ। जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनसन थालेका केसीको अवस्था काठमाडौं ल्याएपछि झन बिग्रिएका बेला आयोग बोलेको हो।

कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय बागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर आयोगले केसीको अवस्था अनुगमन गरिरहेको पनि जनाएको छ। आयोगले स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अनसनको नवौं दिन नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएका केसीको अवस्था झन् खस्किएको दाबी गरेको छ।

हाल शिक्षण अस्पतालमा रहेका केसीको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको पनि आयोगले जनाएको छ। ‘पटक–पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्च जोखिम रहेको छ’, आयोगले भनेको छ, ‘ डा. केसीको जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघ लगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेकोप्रति पनि आयोगको ध्यानाकर्षण भएको छ।’

आयोगले सरकारलाई चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन आग्रह गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको