ओडिशामा नेपाली विद्यार्थीको मृत्यु प्रकरण: तनावपछि कलेजले नेपाली विद्यार्थीलाई निष्कासन गर्यो
काठमाण्डौ – भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छन्।
बुटवलकी २० वर्षीया प्रकृति लम्साल होस्टलमा मृत अवस्थामा भेटिएकी हुन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीमाथि भारतीय विद्यार्थी अद्विक श्रीवास्तवले दुर्व्यवहार गरेका कारण आत्महत्या गरेको आशंका गरिएको छ।
मृतकको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पतालमा राखिएको छ। घटनापछि प्रहरीले आरोपी अद्विकलाई पक्राउ गरेको छ।
यस घटनापछि नेपाली विद्यार्थीहरूले केआईआईटी विश्वविद्यालयमा प्रदर्शन गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि कलेज प्रशासनले सबै नेपाली विद्यार्थीलाई घर फर्कन सूचना जारी गरेको छ।
कलेजले ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई बलपूर्वक बाहिर निकालेको खबर सार्वजनिक भएको छ। विद्यार्थीहरूले आफूहरूलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेशनमा छोडिदिएको तर नेपाल जाने रेल बिहीवार मात्र चल्ने भएकाले अलपत्र परेको गुनासो गरेका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालय प्रशासनसँग छलफल गरी नेपाली विद्यार्थीको सुरक्षाका लागि पहल गरिरहेको जनाएको छ। साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विश्वविद्यालयबाट नेपाली विद्यार्थीहरूलाई निकालेको विषयमा कुटनीतिक पहल भइरहेको जानकारी दिनुभएको छ।

प्रतिकृया दिनुहोस्