कृषिमन्त्री अधिकारीद्वारा किसानलाई विषादी प्रयोगमा सतर्क रहन आग्रह
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा अत्यधिक विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्नुभएको छ।
आज बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१५ गोडारमा सामूहिक प्याजखेतीको अवलोकन गर्दै मन्त्री अधिकारीले अत्यधिक विषादी प्रयोगले किसान स्वयं र उपभोक्ता दुवैलाई स्वास्थ्य जोखिममा पार्ने बताउनुभयो।
उहाँले आवश्यकता भन्दा बढी विषादीको प्रयोगले तत्काल फाइदा भए पनि दीर्घकालमा मानव स्वास्थ्य र माटोको उर्वराशक्तिमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो। विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले विशेष अभियान सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेती कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा २५ वटा समूह व्यावसायिक प्याजखेतीमा संलग्न भएका छन्।
परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गरिएको छ।
4o

प्रतिकृया दिनुहोस्