October 19, 2026, Monday
KN hd tv

भ्रामक र तथ्यहीन समाचारमा प्रति राष्ट्रपतिको चासो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा सञ्चारमाध्यममा तथ्यहीन र झूटा समाचार आइरहेको भन्दै चासो व्यक्त गरेकी छन्। 

प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भ्रामक विचारहरु पनि सञ्चारमाध्यममा आइरहेकोप्रति चासो राखेकी हुन्।  भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले ध्यान पुर्याउनुपर्ने समेत बताइन्। 

‘आमसञ्चारमाध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुनुपर्दछ’, शीतल निवासमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्दछ भन्ने मैले ठानेको छु ।’ राष्ट्रपतिले सञ्चारमाध्यममा नयाँ प्रविधि आए पनि भ्रामक समाचारले समस्या बनाएको बताइन्। ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनेको छ’, उनले भनिन्, ‘सञ्चारक्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ।’ 

उनले कोरोना महामारीका कारण सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत पीडित हुनु परेकोमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रतिकूल परिस्थितिमा पनि पेशाप्रतिको दायित्व बहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको बताइन्।  उनले आमसञ्चारको क्षेत्रमा देखिएका कमी कमजोरीहरू हट्दै जाने विश्वाससमेत व्यक्त गरेकी छन्।

भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएकी छन्। 

शीर्ष समाचार

धेरै पढिएको