October 25, 2024, Friday
KN hd tv

राष्ट्रसंघलाई सशक्त, निष्पक्ष र विधिमा आधारित निकाय बनाउनु सामुहिक दायित्व होः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७५ औं वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित भिडियोमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसंघलाई सुदृढ र सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका हुन् ।

एकता, ऐक्यबद्धता र सहयोगको कुनै विकल्प नभएकाले एकता, ऐक्यबद्धता र सहयोगका मूल्यमान्यताप्रतिको प्रतिबद्धताप्रति सबै सदस्य राष्ट्रले आफूलाई पुनर्पुष्टि गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । व्याख्यानमा नभई कार्यान्वयनमा जानुपर्ने खाँचो औँल्याउँदै प्रधानमन्त्री ओलीले भने, ‘सामयिक सुधारसँगै राष्ट्रसंघलाई स्वतन्त्र, निष्पक्ष र विधिमा आधारित अन्तर्राष्ट्रिय प्रणाली स्थापना गर्ने समर्थ निकाय बनाउनुपर्छ ।’

निर्धन देश र तिनका जनताको रक्षा, सार्वभौम समानता र सबैको मानमर्यादाको प्रवद्र्धन, महामारी, जलवायु परिवर्तनका कारण उत्पन्न संकट, आतंकवादको अन्त्य, आणविक, रासायनिक, जैविकलगायत आम विनाशका सबै हातहतियारको उन्मूलनमा राष्ट्रसंघको विशेष भूमिकाको अपेक्षा विश्वले गरेको प्रधानमन्त्रीले बताए ।

संयुक्त राष्ट्रसंघ निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सव शान्ति, समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अवसर भएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको