भोजपुरमा पशु स्वास्थ्य सेवा विस्तार गर्न सीपमूलक तालिम सम्पन्न
भोजपुर – ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न भोजपुर जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। पशुपालक किसानले दैनिकजसो भोगिरहेका समस्यालाई ध्यानमा राख्दै व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)ले २० किसानलाई एकमहिने (१६० घण्टे) अभ्यासमूलक प्रशिक्षण प्रदान गरेको हो।
सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरका अनुसार, प्रशिक्षणपछि सहभागी किसानले दक्षतापूर्वक आफ्ना क्षेत्रमा काम गर्न सक्नेछन्। तालिमका क्रममा किसानलाई पशुमा लाग्ने रोग, उपचार पद्धति, बन्ध्याकरण, फार्म व्यवस्थापन, खोप र खोपको प्रयोग विधि जस्ता सीप प्रदान गरिएको छ।
स्थानीय किसानका माग र आवश्यकता अनुसार सदरमुकाममा पहिलोपटक यस्तो तालिम सञ्चालन गरिएको हो। तालिम पूरा गर्ने किसानलाई योग्यताको प्रमाणपत्रसमेत प्रदान गरिने छ।
भोजपुर नगरपालिका पशु शाखा प्रमुख सन्तोष कटुवालका अनुसार, ग्रामीण भेगमा पशु स्वास्थ्य सेवा पुर्याउन जनशक्तिको अभाव रहेको अवस्थामा यस प्रकारको तालिम प्रभावकारी बन्नेछ। सिटीइभिटी र भोजपुर नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको यो तालिमले किसानहरूलाई समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
सहभागी किसान मोहनप्रसाद ढकालले लामो समयदेखि पशुपालन गर्दै आए पनि पशुमा लाग्ने रोग र उपचार पद्धतिका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको बताए। तालिमले आफूलाई आवश्यक ज्ञान र सीप प्रदान गरेकोमा उनले खुसी व्यक्त गरे।

प्रतिकृया दिनुहोस्