अमेरिका र कोलम्बियाबीच व्यापारिक तनाव: ट्रम्पले आयातमा २५ प्रतिशत कर घोषणा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। अमेरिकामा रहेका अवैध कोलम्बियन आप्रवासीहरूलाई फिर्ता लिन कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अस्वीकार गरेपछि ट्रम्पले यो निर्णय गरेका हुन्।
ट्रम्पले करको दर एक साताभित्र ५० प्रतिशत पुर्याउने चेतावनीसमेत दिएका छन्। आइतबार अमेरिकी सेनाको विमानले अवैध आप्रवासीहरू लिएर कोलम्बिया पुग्न खोज्दा अवतरण गर्न रोक लगाएपछि ट्रम्पले कडा निर्णय लिएको जनाइएको छ।
जवाफमा, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाबाट आयात हुने सामग्रीमा २५ प्रतिशत कर लगाउन वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन्। उनले एक्समार्फत ट्रम्पलाई “कोलम्बियाले पनि तपाईंकै नीति अनुसरण गरेको छ” भन्दै प्रतिक्रिया दिएका छन्। उनले अमेरिकी वस्तुहरूको आयातमा कर दर ५० प्रतिशत पुर्याउने धम्कीसमेत दिएका छन्।
ट्रम्पले कोलम्बियाविरुद्ध बैंकिङ र वित्तीय प्रतिबन्ध लगाउने, कोलम्बियाका सरकारी अधिकारीहरूको भिसा रद्द गर्ने, र अमेरिकी नागरिकहरूलाई कोलम्बियामा यात्रा प्रतिबन्ध लगाउने योजना रहेको बताएका छन्।
गुस्ताभोले ट्रम्पलाई “तपाईंलाई हाम्रो स्वतन्त्रता मन परेको छैन। हामी गोरा दासहरूसँग हात मिलाउने छैनौं,” भन्दै कडा प्रतिक्रिया दिएका छन्।
ट्रम्पले आफ्नो कार्यकालको शुरुमै अवैध आप्रवासीहरूलाई तीव्र रूपमा फिर्ता पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसै अनुसार आइतबार अमेरिकी सेनाको विमानले आप्रवासी फिर्ता पठाउन खोजे पनि, कोलम्बियाले सैनिक विमानको प्रयोग अस्वीकार गर्दै आप्रवासीलाई नागरिक विमानबाट मात्र फिर्ता पठाउनुपर्ने बताएको थियो।
कोलम्बिया अमेरिकाको तेस्रो ठूलो व्यापारिक साझेदार हो। यो व्यापारिक तनावले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाएको र ट्रम्प आप्रवासी फिर्ता गर्ने निर्णयमा कत्तिको गम्भीर छन् भन्ने देखाएको अमेरिकी सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन्।

प्रतिकृया दिनुहोस्