October 16, 2026, Friday
KN hd tv

कृषिविज्ञ मदन राई बाल यौनदुर्व्यवहार कसुरमा दोषी

खोटाङ – कृषिविज्ञ मदन राई बाल यौनदुर्व्यवहार कसुरमा दोषी ठहरिएका छन्। जिल्ला अदालत खोटाङले राईलाई बाल यौनदुर्व्यवहारमा दोषी ठहर्‍याएको हो।

जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ १० गते कसुर ठहर गरेको हो। आगामी माघ २५ गतेको फैसलाबाट राईले पाउने सजाय निर्धारण हुने जिल्ला अदालतका स्रेस्तेदार सीताराम खड्काले बताए।

कृषिविज्ञ राईमाथि आफैँले सञ्चालन गरेको खोटाङको सोल्मास्थित शुभद्रा मदन (शुभम)फाउण्डेशनका किशोरीलाई यौनदुर्व्यवहार गरेको अभियोग छ।

फाउण्डेशनमा बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौनदुर्व्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई २०८० वैशाख २९ गते पक्राउ परेका थिए। मुद्दा छिनोफानो नभएसम्म फाउण्डेशनमा जान नपाउने गरी २०८० जेठ २२ गते चार लाख धरौटीमा राई रिहा भएका थिए।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको