October 16, 2026, Friday
KN hd tv

दुई महामन्त्रीको प्रस्तावले सभापति देउवालाई ‘तनाव’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदनमाथि छलफलका लागि नेताहरुलाई बोलाएका छन् । भोलि (मंगलबार) बिहान ११ बजे देउवाले आफ्नो निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएका हुन् ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई देउवाले बोलाएको कांग्रेसका एक नेताले जानकारी दिए । दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएको उनले जानकारी दिए । २३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरु माथि छलफल भइरहेको छ । गत फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जित सहित पारित गर्ने निर्णय गरेर प्रतिवेदनको निर्णय लिने अधिकार केन्द्रीय समितिलाई दिएको छ ।

कांग्रेसका महामन्त्री गगन थापाको प्रतिवेदनले महासमिति बैठक मात्रै तताएको थिएन, उतिबेलाको सत्ता गठबन्धन नै भत्किने अवस्थामा पुर्‍याएको थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले गरेको अर्को प्रस्तावले पार्टी नेतृत्वलाई झस्काएको मात्र छैन, सभापति देउवालाई तनाव समेत दिएको  छ । महामन्त्रीद्वय थापा र शर्माका तिनै प्रतिवेदनले अहिले केन्द्रीय समिति बैठकमा विवाद बढेको छ । सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु महामन्त्रीहरु प्रतिवेदन परिमार्जन विना पारित गर्न नहुने पक्षमा छन् भने महामन्त्रीद्वय अडानबाट पछाडि नहट्ने स्थिति बन्दै गएपछि विवाद बढ्दै गएको हो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणका लागि भन्दै एक्जिट पोलिसी अर्थात् नेताहरुको बहिर्गमन नीति प्रस्ताव गरेका थिए । कुनै पनि नेता राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद बढीमा चार पटक मात्रै बन्न पाउने शर्माको प्रस्ताव छ । महामन्त्री शर्माको यो प्रस्तावलाई सभापति देउवालाई प्रधानमन्त्री बन्नबाट बञ्चित गर्न ल्याइएको भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मले विरोध गरेका छन् । लोकतान्त्रिक पद्दतिमा जनतामा जान कसैले पनि रोक्न नहुने र संविधानले समेत नरोकेको विषयलाई पार्टीले वैधानिकता दिन नसक्ने तर्क नेताहरुको छ ।

महामन्त्री शर्माको बहिर्गमनको विषय हचुवाका भरमा ल्याइएको भन्दै देउवा पक्षधरले मात्रै नभइ संस्थापन इतर पक्षले समेत आलोचना गरिरहेको छ । अर्का महामन्त्री गगन थापाले पेश गरेको चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पनि विवादमा परेको छ । थापाको प्रतिवेदनमा विधानअनुसार २०८२ मंसिरभित्रै पार्टीको महाधिवेशन गर्नुपर्ने र आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने उल्लेख छ ।

पार्टीले निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालीन आवश्यकता र रणनीतिका आधारमा निर्णय हुने भएकाले अहिले नै निश्चित गर्न नहुने सभापति देउवा पक्षको तर्क छ । दुवै महामन्त्रीका प्रस्ताव परिमार्जन पछि मात्रै परित हुने संस्थापन पक्षको भनाइ छ ।

महामन्त्री थापाको त्यहि प्रस्ताव हो जसबाट झस्किएको माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन नै तोडेको थियो । साउन २३ गतेदेखि ५ दिनसम्म चलेको केन्द्रीय समिति निर्णयमा पुग्न नसकेपछि भदौ ७ सम्मलाई सारिएको थियो । ७ गतेको बैठकमा समेत दुबै प्रतिवेदनमा सहमति जुट्न नसकेपछि १२ गतेसम्मका लागी बैठक स्थगित भएको छ । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास भइरहँदा दुबै पक्षले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
 

शीर्ष समाचार

धेरै पढिएको