October 25, 2024, Friday
KN hd tv

मन्दिर खुलेपछि पशुपति परिसरका अव्यवस्थित पसल डोजर लगाएर हटाउने तयारी

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले लकडाउन खुलेपछि अव्यवस्थित रुपमा सञ्चालित फूल र पूजाको सामग्री पसलमा डोजर लगाएर हटाउने भएको छ।

पटक-पटक सार्वजनिक सूचना दिँदा पनि पशुपति क्षेत्रमा अनाधिकृत रुपमा सञ्चालित पसल हटाउन अनुरोध गर्दा नहटेपछि लकडाउन खुलेपछि हटाउन लागिएको हो। वन काली, भकुण्डोल, मृगस्थली, कैलाश डाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसलले मन्दिरको सौन्दर्य  घटाएको र दर्शनार्थीलाई दुःख दिएको गुनासो आएपछि सुरक्षित स्थानमा व्यवस्थापन गर्न लागेको हो।

कोषले सञ्चालनमा रहेका पसललाई नयाँ टहरामा व्यवस्थापन गर्ने भएको छ। हाल मन्दिर परिसरमा १ सय ६४ वटा पसल सञ्चालित  छन्। १ सय २८ वटा पसललाई व्यवस्थापन गरिने भएको छ। स्थानीय र पुरानो पसलहरूले सम्झौता गरि बसेकालाई पहिलो प्राथमिकतामा राखी प्रक्रिया अगाडि बढाइएको छ। पुराना पसले ले विकास कोषलाई बुझाउन बाँकी रहेको पैसा चुक्ता गरिरहेको विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले बताए।

विधिवत रुपमा प्रक्रिया पुर्‍याएका पसललाई मात्र बस्ने दिने उनले जानकारी दिए। पुरानो पसलले महिनाको पाँच सय बुझाउने गरेका थिए। नयाँ भवनमा बसेको मासिक पाँच हजार तिर्नुपर्ने विकास कोषले तोकेको छ। बि-१३ मा रहेका १ करिब १ सय १८ वटा घरलाई पनि हटाउने भएको छ।

पशुपति क्षेत्रको जग्गामा अनाधिकृत रुपमा बसोबास गर्ने कसैलाई अधिकार नभएको उनको भनाइ छ। उनले भने,’ लकडाउन खुलेपछि पहिलो चरणको काम नै अव्यवस्थित रुपमा बसोबास गरेका बस्तीलाई र पसललाई डोजर चलाएर हटाउँछौ।’

शीर्ष समाचार

धेरै पढिएको