२०७८ को जेठ कि भदौमा ? कांग्रेस महाधिवेशन

काठमाडौं- निर्धारित मितिमा कांग्रेसको १४औं महाधिवेशन नहुने निश्चितप्रायः भएको छ। फागुन ७ देखि १० सम्म तोकिएको महाधिवेशन कोभिड र कांग्रेसको आन्तरिक विवादले पर सर्ने भएको हो।

महाधिवेशनको कार्यतालिका प्रभावित बनेपछि दुई विकल्प अघि सारिएको छ। २०७८ को जेठ वा भाद्रमा गर्ने नयाँ मिति तोक्ने गरी आन्तरिक छलफल अघि बढेको हो। सभापति शेरबहादुर देउवा तोकिएको मितिमा महाधिवेशन नहुनेमा ढुक्क देखिएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा भएको भर्चुअल संवाद देउवाले नयाँ मिति सबैको सहमतिबाट तोकिने बताएका थिए। देउवाले भनेका थिए, ‘संविधानले दिएको व्यवस्थाभन्दा बढाउन पाउँदिन भन्ने त मलाई पनि थाहा छ।’

देउवाका लागि महाधिवेशन सर्ने प्रमुख कारण कोरोना महामारी हो। महाधिवेशन सर्ने अभिव्यक्ति दिँदा त्यसको अपजस लिनुपर्ने भएकाले केन्द्रीय समितिबाट निर्णय गराउने प्रक्रियामा छन् सभापति देउवा। संस्थापन इतरको समर्थनसमेत लिएर निर्णय गर्दा दोषको भागीदार हुनु नपर्ने उनको बुझाई छ। ‘सबै साथीहरुको सहमतिले नयाँ मिति तोक्ने हो। मैले हुँदैन कहाँ भन्छु र?’

संस्थापन इतरका नेताहरू निर्धारित कार्यतालिका अनुसार महाधिवेशनका काम नहुनुमा देउवा पक्षलाई दोष लगाउँछन्। संगठन समायोजनका काम सक्नका लागि समयावधि पटकपटक सारिएको थियो। अन्तिम समयका लागि साउन १० सम्म दिइएको समयावधिमा निर्वाचन समितिले आफ्नो कार्य सकेको छैन।

प्रदेश २ का ८ जिल्लासहित करिब एक दर्जन जिल्लामा समायोजन सकिएको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवा पक्षले समायोजन अल्झाएर राखेको आरोप लगाए। अर्कोतर्फ क्रियाशील सदस्यताको वितरण र नवीकरण समेत विवाद देखिएको छ।

जिल्ला सभापतिले समायोजनको कार्य सकेर केन्द्रमा पठाएपनि संस्थापन पक्षले विवाद झिकेर क्रियाशील सदस्यता वितरण गर्न रोकेको बताइएको छ। अन्य दलबाट आएकालाई सभापतिले आफुखुसी क्रियाशील सदस्यता बाँडेको संस्थापनइतरले जनाएको छ।