October 25, 2024, Friday
KN hd tv

के फागुनमा सम्भव छ त ? कांग्रेस महाधिवेशन !

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस यति बेला १४ औँ महाधिवेशनको संघारमा छ। कांग्रेस केन्द्रीय समितिले महाधिवेशन मिति आगामी फागुन (७-१०) लाई तोकेको छ। तर, यही मितिमा महाधिवेशन नहुने पक्का पक्की भएको छ।

सभापति शेरबहादुर देउवा स्वयमले फागुनमा महाधिवेशन नहुने अभिव्यक्ति दिइसकेका छन्।  बुधबार भएको कांग्रेसको भर्चुअल संवादमा देउवाले भने, ‘कोभिडले गर्न दिएन त मैले गर्ने? हामी अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर कसरी अघि बढ्ने टुङ्ग्याउँछौँ।’ देउवाले फागुनमा महाधिवेशन सम्पन्न हुने वातावरण नरहेको पनि बताए।  ‘महाधिवेशन हुनुहुन्‍न भनेर म कहाँ भन्छु।

कोरोनाका कारण हुन सकेन भने मैले के गर्न सक्छु र?’ देउवाले उल्टै प्रश्‍न गर्दै वीपी जयन्ती कार्यक्रममा भने, ‘साथीहरुले जे भन्‍नुहुन्छ भने त म गर्न तयार छु।’  कोरोना संक्रमणको त्रासले नै कांग्रेसको पूर्व निर्धारित कार्यतालिका अनुसार महाधिवेशन अघि हुनुपर्ने विभिन्‍न कार्यक्रम नै प्रभावित भइसकेका छन्। यता सभापतिमा पुन: उम्मेदवारी दिने तयारीमा रहेको कुरा कृष्णप्रसाद सिटौलाले साउन पहिलो हप्ता नै भनेका थिए। ‘फागुनमा महाधिवेशन हुँदै, हुँदैन, वैशाख जेठमा सारौँ,’ उनले भनेका थिए।

फागुनमा महाधिवेशन नहुने भएपछि देउवा नेतृत्वको मौजुदा कार्यसमितिले २०७८ भदौ भित्र त जसरी पनि महाधिवेशन गराउनै पर्छ। कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिटौलाले त सभापति देउवालाई तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन आग्रह पनि गरेका छन्। 

समय सकियो, काम सकिएन

महाधिवेशन हुनु अघि सम्पन्‍न गरिसक्नु पर्ने साङ्गठानिक समायोजनको काम नै सकिएको छैन।

यही सकिएकोले नयाँ सदस्यता वितरण तथा नवीकरण पनि कतिपय जिल्लामा अड्किएको छ। गत असार २२ मा कांग्रेस मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय अधिवेशनको मितिलाई यथावत राखेर अन्य तहको अधिवेशन मिति भने हेरफेर गरेको थियो। असार २२ को निर्णय अनुसार नै जिल्लामा साङ्गठानिक संरचना समायोजन, क्रियाशिल सदस्यता वितरण तथा नवीकरणको समयावधि पनि हेरफेर भयो। कांग्रेसको अन्तरिम संरचना समायोजन गर्ने मिति साउन १० गतेसम्मलाई तोकिएको थियो। उक्त मिति गुज्रेर डेढ महिना धकेलिइसकेको छ। साउन १० सम्म गरिसक्नु पर्ने समायोजनको काम अझै ११ जिल्लामा बाँकी नै छ। त्यति मात्रै होइन, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरणको काम सक्ने समय असार २५ देखि साउन मसान्तलाई तोकिएको थियो। भदौ मसान्त हुन लाग्दा पनि त्यो काम अझै पूरा हुन सकेको छैन।   प्रदेश २ का आठ जिल्लासँगै मुस्ताङ, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा समायोजनको काम सकिएको छैन। कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार काभ्रे, मुस्ताङ, सर्लाही र महोत्तरी जिल्लाको जिल्ला समायोजनको टुंगो अन्तिम चरणमा पुगेको छ। यी जिल्लाको कागजात आइसकेको र निर्वाचन समितिले त्यसलाई अन्तिम रुप दिने काम गरिरहेको पौडेल बताउँछन्। साङ्गठानिक संरचना समायोजनको काम नसकिएकोले यी जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण पनि सुरु हुन सकेको छैन।   विभिन्‍न ११ जिल्लाहरुमा पार्टीका अन्तरिक संरचनाहरु समायोजनको काम सम्पन्‍न नभएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण पूरा गर्न सकेको छैन। कांग्रेसभित्र गत असार २२ गते परिमार्जन गरेर जारी गरिएको कार्यतालिका पुन: हेरफेरको चर्चा पनि चलिरहेको छ।thahakhabar

शीर्ष समाचार

धेरै पढिएको