December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

गौतमबुद्ध विमानस्थल, सन् २०२१ को शुरूमै सञ्चालनमा आउने

रुपन्देही – राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ।

हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ।  कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुनेथियो। कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ। अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए। विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले प्रविधिक काम निकै चुनौतिपूर्ण रहेको बताए।

उनका अनुसार  अधिकांश उपकरण आइसकेको भए पनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ। विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ। ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन र व्यवस्थापकीय कार्यको सहजीकरणका लागि पटकपटक स्थलगत निरीक्षण र निर्देशन दिँदै आएका छन् । पछिल्लो पटक पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको कामले तीव्रता पाएको र बाँकी प्राविधिक कामलाई पूर्णता दिन आवश्यक पहल भइरहेको जानकारी दिएका थियो।

गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो।  

पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो। प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो।   विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको