March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

आर्थिक अभावले उपचार गर्न नसकेपछि ओछ्यानमै थला

कावासोती – आर्थिक अभावका कारण हुप्सेकोट गाउँपालिका–४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ । पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला पर्नुभएको छ ।

दुई वर्षअघि पाठेघरमा क्यान्सर भएको थाहा पाएपछि चिकित्सकले उपचारका क्रममा पाठेघर फालिदिएका थिए । त्यसपछि दुई पटक किमो चढाइएको थियो । शुरुमा रोग पत्ता लगाउन र उपचारमा भौँतारिदा करिब रु १० लाख खर्च भएको उहाँका श्रीमान् सन्तबहादुर नेपालीले बताउनुभयो । पहिलो पटक निःशुल्क किमो चढाएकोमा दोस्रोपटक वडा नम्बर ४ को संयोजनमा आर्थिक सङ्कलन गरी उपचार गरिएको श्रीमान् सन्तबहादुरले बताउनुभयो । श्रीमतीको उपचार गराउँदा गराउँदै आफ्नो नाममा भएको जग्गासमेत बेचेर सकिएको र अहिले केही पनि आम्दानी नहुँदा उपचारमा समस्या भएको उहाँको भनाइ छ ।

अहिले सम्पत्तिका नाममा सानो घर रहेको र त्यो पनि बैंकमा धितो रहेको उहाँले दुखेसो पोख्नुभयो । वडा सदस्य नेपालीलाई फेरि पनि किमो चढाउनुपर्ने र त्यसका लागि पैसा नभएपछि उहाँ बिस्तरामा थलिनुभएको छ ।

दई महिनाअघि सन्तबहादुर स्वयं बिरामी पर्नुभएको थियो । उहाँलाई अल्सर र पित्तथैलीमा समस्या देखएिपछि बल्लतल्ल उपचार गराएकोमा अहिले पुनः श्रीमतीलाई समस्या देखिएपछि यो परिवार समस्यामा परेको छ ।

शीर्ष समाचार

धेरै पढिएको