कोरोनाविरुद्धको रुसी खोपले प्रतिरोधात्मक क्षमता बढायोः रुसी वैज्ञानिक
एजेन्सी- रुसी वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले मानिसको शरीरमा भाइरससँग लड्ने क्षमता विकसित गरेको जनाएका छन् ।
खोपको परीक्षणबारे पहिलोपटक प्रतिवेदन सार्वजनिक गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् ।
मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख गरिएको छ ।
खोपबारे वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै गत अगस्ट महिनामा रुसले खोप प्रयोग गर्न अनुमति दिएको थियो ।
विज्ञहरूले खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्न उक्त परीक्षण निकै न्यून भएको बताएका छन् । तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै परिणामको प्रशंसा गरेको छ ।
केही पश्चिमा देशका विज्ञहरूले रुसले तीव्र गतिमा खोप निर्माण गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अनुसन्धानकर्ताहरूले खोप निर्माण कार्यमा पहिलो हुन रुसले कतिपय प्रक्रिया पूरा नगरेको आशंका व्यक्त गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोप निर्माणका लागि आवश्यक सबै परीक्षण मापदण्ड पूरा गरिएको जनाएका थिए ।
प्रतिकृया दिनुहोस्