October 19, 2026, Monday
KN hd tv

तनहुँमा बस दुर्घटना, ३२ जना घाइते

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज विहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

उनका अनुसार बस सडकबाट अन्दाजी ५६ फिट तल खसेको छ । घाइतेमध्ये २९ जनाको तनहुँकै बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । दुई जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र एक जनालाई मणिपाल शिक्षण अस्पतालमा थप उपचारका लागि रिफर गरिएको खाँणले जानकारी दिए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ । घाइते हुनेमा बसचालक कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठसहित अन्य यात्रु रहेका प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको