October 21, 2026, Wednesday
KN hd tv

वर्षायाममा जगेडा विद्युत् भारतमा बिक्री गर्न प्राधिकरणद्दारा टेण्डर आह्वान

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिष्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ । प्राधिकरणले आज (शुक्रबार) टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत् आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको विद्युत् पाँच महिना अर्थात १७ असारदेखि आउँदो कात्तिक २९ गतेसम्म बिक्री गर्नेछ । भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरु, विद्युत् वितरण कम्पनीहरुलगायतले विद्युत् खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् बिक्रीका लागि स्वीकृति पाएका छौं, त्यसमध्ये २०० मेगावाट प्रतिष्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेण्डर आह्वान गरेका हौं’, कार्यकारी निर्देशक घिसिङले भने । ‘बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्नेछौं, टेण्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीहरुलाई विद्युत् उपलब्ध गराइने छ ।’

नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीहरुले आउँदो १३ जेठ मध्याह्न १२ बजेसम्ममा प्रस्ताव पेस गर्न सक्ने छन् र त्यही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ । इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेस गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ ९४८ हजार रुपैयाँ प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्नेछ ।

भारतले नेपालका ६ वटा विद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुनेछ । नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्य मर्स्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को लिखु-४ बाट उत्पादित ३६४ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको