October 15, 2026, Thursday
KN hd tv

भरतपुरको सुरक्षामा ‘स्मार्ट प्रविधि’: ५ करोड बढीको लागतमा जडान भए ६ सयभन्दा बढी अत्याधुनिक सिसीटिभी क्यामेरा

काठमाडौँ । देशको मध्यभागमा रहेको प्रमुख व्यापारिक तथा रणनीतिक सहर भरतपुर महानगरपालिकाले आफ्नो सुरक्षा व्यवस्थालाई पूर्णरूपमा डिजिटल र प्रविधिमैत्री बनाएको छ। महानगरपालिकाले पाँच करोड ५८ लाख २० हजार रुपैयाँको लगानीमा स्थानीय २९ वटै वडा, प्रमुख राजमार्ग तथा भित्री बजार क्षेत्रहरूमा कुल ६२२ वटा अत्याधुनिक सिसीटिभी क्यामेराहरू सफलतापूर्वक जडान गरेको छ। यस बृहत् डिजिटल निगरानी प्रणालीको सुरुवातसँगै यस क्षेत्रको सुरक्षा व्यवस्थामा एक किसिमको ठूलो गुणात्मक फड्को मार्ने अपेक्षा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनको परिसरभित्रै एउटा अत्याधुनिक ‘इन्टिग्रेटेड कन्ट्रोल रुम’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ। सो कन्ट्रोल रुमबाट नेपाल प्रहरीका १० जना विशेष तालिमप्राप्त जनशक्तिले चौबीसै घण्टा प्रत्यक्ष रूपमा गतिविधिको निगरानी गरिरहेका छन्। राजमार्गका संवेदनशील नाकाहरू जस्तै टिकौली, नारायणगढ–मुग्लिन सडक खण्ड, रामनगर, पुलचोक र रत्ननगरमा स्वचालित नम्बर प्लेट पहिचान (एएनपीआर) र गति मापन गर्ने प्रविधिसहितका क्यामेराहरू जडान गरिएका छन्। यसका साथै, ३६० डिग्रीमा घुम्न सक्ने र उच्च क्षमतामा जुम गर्न मिल्ने ९ वटा विशेष क्यामेराले निगरानीको दायरालाई अझै फराकिलो बनाएको छ।

प्रविधिका माध्यमबाट सञ्चालित यो सुरक्षा कवजलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमसँग वार्षिक ४७ लाख रुपैयाँको आर्थिक सम्झौता अन्तर्गत उच्च गतिको ‘जीपीएन नेटवर्क’ जडान गरिएको छ। यस हाई-स्पीड इन्टरनेट नेटवर्कले सूचना आदानप्रदानमा कुनै पनि प्रकारको विलम्ब हुन नदिई निर्बाध रूपमा उच्च गुणस्तरको भिडियो प्रसारण सुनिश्चित गरेको छ।

यस नयाँ प्रविधिले सडक दुर्घटनाहरू न्यूनीकरण गर्न, चालकहरूलाई ट्राफिक नियम कडाइका साथ पालना गराउन र कुनै पनि किसिमका आपराधिक गतिविधिहरू हुँदा तत्काल प्रहरी ‘एक्सन’ लिन अभूतपूर्व सहयोग पुग्ने विश्वास कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेल र ट्राफिक प्रमुख अनिल थापाले व्यक्त गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको