October 20, 2026, Tuesday
KN hd tv

एक हप्तापछी सेयर बजारमा छायो बहार, १३.३७ अंकले बढ्यो नेप्से

काठमाडौं– झण्डै एक साताको अन्तरालपछि सेयर बजार उकालो लागेको छ। गत हप्ताको बुधबार यता निरन्तर ओरोलो लागिरहेको सेयर बजार मंगलबार दोहोरो अंकले बढेको हो। 

साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार)  सेयर बजार परिसूचक (नेप्से) १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुग्यो। यो  साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ४१.७७ अंकले घटेको थियो। 

मंगलबार सेन्सेटिभ परिसूचक पनि ३.६१ अंकले बढेर ४४७.७६ विन्दुमा पुगेको छ। मंगलबार कूल २२९ वटा कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९ सय ३२ रूपैयाँको कारोबार भयो। 

कारोबारमा आएका कूल १३ समूहमध्ये मंगलबार सबै समूहको उपसूचक बढेका छन् । मंगलबार सबैभन्दा धेरै ‘अन्य’ समूह बढेको छ। 

मंगलबार पनि नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ। यस बैंकको ६ करोड ३० लाख ६७ हजार ३ सय ८५ रूपैयाँको कारोबार भएको हो। अघिल्लो कारोबार दिन पनि नबिल बैंककै सर्वाधिक कारोबार भएको थियो । 

मंगलबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता३ हजार ११ रुपैयाँ ४० पैसा पुगेको छ। त्यस्तै ग्रीन भेन्चर्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ सय ९८ रुपैयाँ १० पैसा पुगेको छ।

मंगलबार दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ। कम्पनीको सेयरमूल्य ८.८२ प्रतिशतले घटेर प्रतिकित्ता २ सय ४८ रुपैयाँमा झरेको छ।

शीर्ष समाचार

धेरै पढिएको