December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

पुरानो नेपाली फिल्मको झल्को दिने अंकितबाबु र सुनिताको ‘बिनायो भाकैले’ (भिडिओ)

अंकितबाबु अधिकारीको संगीतमा सार्वजनिक ‘के माया लाग्छ र!’ बोलको गीत गत वर्ष लोकप्रिय भएको थियो। स्रोताले लोकशैलीको संगीत रुचाएपछि गायक तथा संगीतकार पछिल्लो समय यही विधाका गीत-संगीत बनाउन सक्रिय देखिएका छन् ।

के माया लाग्छ र’मा संगीत मात्र दिएका उनले त्यसपछि आफ्नै स्वर तथा संगीतमा लोकशैलीकै गीत ‘याक्थुङ्मा कान्छी’ ल्याए। याक्थुङ्मा कान्छी अंकितले गायिका सुनिता थेगिमसँग मिलेर गाएका थिए।

हालै अंकितले आफ्नै संगीतमा गायिका सुनितासँगै अर्को लोकशैलीको गीत सार्वजनिक गरेका छन्। सुष्मा सिग्देलको रचनामा ‘बिनायो भाकैले’ बोलको गीतमा पनि अंकितले लोकभाकालाई नै रोजेका छन्। 

आर्टमान्डुको प्रस्तुति बिनायो भाकैले दसैं तिहारको समयमा सार्वजनिक गरिएको रमाइलो गीत हो। म्युजिक भिडिओ निर्माणमा नयाँपन भित्र्याइरहेको आर्टमान्डुद्वारा निर्माण भएको यस गीतको भिडिओमा पनि दर्शकले फरक स्वाद पाउने छन्।

बिनायो भाकैलेको म्युजिक भिडिओ ‘तीनपाते’, ‘के माया लाग्छ र!’, ‘लजाएर’, ‘बाफ’जस्ता भिडिओ निर्देशन गरिसकेका नवीन चौहानले गरेका हुन्।

बिजु पार्की र कविता नेपालीको मुख्य अभिनय रहेको भिडिओमा नवीन आफूले २०४५ देखि ५५ सालतिरको नेपाली सिनेमाको झलक दिने प्रयास गरेको बताउँछन्। 

‘हामी धेरैसँग पुराना नेपाली फिल्म हेर्दाका स्मृति छन्। ती स्मृतिमा खास किसिमको पात्र, परिवेश र पहिरनपनि आउँछन्। खास किसिमका घटनाक्रम र प्रस्तुति नै त्यसबेलाको फिल्मको पहिचान पनि थियो,’ निर्देशक नवीनले सेतोपाटीसँग भिडि‌ओबारे भने, ‘म पनि धेरै नेपाली फिल्म हेर्दाहेर्दै निर्देशनमा लागेकोले त्यो समयको झलक दिने खालको भिडिओ बनाइएको हो।’

त्यसबेलाका सबैजसो नेपाली फिल्ममा गीत, नृत्य, फाइट र हास्य दृश्यहरुको संयोजन भेटिन्छ। नायक, खलनायक, सहायक खलपात्रहरु, हाँस्य कलाकार, चरित्र अभिनेताहरुले भरिने ती फिल्ममा नाटकीय हुन्थे। दर्शक पनि त्यसमै रमाउँथे। 

बिनायो भाकैलेको म्युजिक भिडिओमा पनि तपाईंले नृत्य, फाइट र हास्य दृश्यहरुको मिश्रण भेट्नु हुनेछ। भिडिओ हेर्दा भुवन केसी, राजेश हमाल, गौरी मल्ल, करिश्मा मानन्धर, युवराज लामा, सुनील थापा, चंखे र चंखिनीजस्तै धेरै नेपाली फिल्मका कलाकारहरुको झल्को आउन सक्छ। यही नै भिडिओको रमाइलो पक्ष हो। 

गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन्। भिडिओमा बिजु पार्की र लाहुरेको नृत्य निर्देशन, सुशन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन छ। शृंगार एवम् केश विन्यासको काम बिनु शाही र पूजा श्रेष्ठले गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको