April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

बिस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा

कास्की – झन्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा आबद्ध मजदुर बेरोजगार बनेका छन् । गएकाे वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटनमा आबद्ध सङ्घ–संस्थाले प्रवर्द्धनात्मक कार्यक्रमका गतिविधि अघि बढाएका थिए । त्यस क्रममा मर्दी हिमाल पदयात्रादेखि धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न ठाउँमा प्रवर्द्धनका कार्यक्रम सम्पन्न भएका थिए । कोरोनाको दोस्रो लहर बढेपछि यी सबै क्रियाकलापसमेत फेरि ठप्प बनेको पर्यटन अझै सुनसान छ ।

पर्यटनलाई फेरि चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग काेराेनाविरुद्धकाे खोपको सुनिश्चितताको माग गरेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा पछिल्ला दिनमा प्रदेशका मुख्यमन्त्रीदेखि सम्बद्ध मन्त्रीलाई भेटी पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई आफूहरूलाई पहिलो चरणमा होटल तथा रेस्टुरेन्टसहितका मजदुर एवम् व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको पाँच हजार खोप तत्काल आवश्यक भएको बताउनुहुन्छ । पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा खोप आवश्यक भए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने गरी पाँच हजार खोप व्यवस्था गर्न माग गरेका छौँ, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसाय जीवन

रक्षा कोष धेरैजसाे साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको दाबी गर्दै उहाँले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आउँदाे दुई वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकाले कर्जा तालिकालाई पुनर्तालिकीकरण गर्नुपर्ने बताउनुभयो ।

मौद्रिक नीतिमा आर्थिक वर्ष २०७८/०७९ मा पर्यटन प्राथमिकता प्राप्त क्षेत्रका रूपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत ब्याज दरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउनुपर्नेमा व्यवसायीको जोड छ ।

पाेखराको पर्यटनमा सम्भावना देखेर नै लगानीका लागि हात बढाएका व्यवसायीलाई एकपछि अर्को गर्दै आएको कोरोना कहरका शृङ्खलाले मर्माहत बनाएको छ । ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाल, तालमा टलपल पानी पर्यटकको स्वागत गर्न नपाउँदा फिका जस्तै बनेका छन् ।

पर्यटन क्षेत्र अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको र सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहने पर्यटन व्यवसायीलाई अहिलेसम्म पनि कोरोनाको खोप नदिँदा आफूहरूलाई चिन्तित बनाएको व्यवसायी बताउँछन् ।

विगतमा नियमित मात्र नभइ नेपाल भ्रमण वर्ष, गण्डकी प्रदेश भ्रमण वर्ष आदिका नाममा यहाँका पर्यटन व्यवसायीले धेरै भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यका साथ ठूलै लगानीमा पूर्वाधार निर्माण गरेका थिए । जनस्तरबाटसमेत ठाउँ–ठाउँमा पर्यटन लक्षित पूर्वाधार विकासलाई निरन्तरता दिइएको छ ।

कोरोनाका कारण देशका धेरैजसाे आयोजनासँगै विकास निर्माणमा पनि असर परेको अवस्थामा पोखरा महानगरपालिका–२२ मा रहेकाे पुम्दीकोटमा जनस्तरबाट विशाल महादेवको मूर्ति निर्माण गरिएको छ । पुम्दीकोटमा यतिखेर ५१ फिट उचाइको महादेवको मूर्ति स्थापना गरिएसँगै त्यहाँ आन्तरिक पर्यटक पुग्ने क्रमले गति लिन थालेको छ ।

अहिले निषेधाज्ञा खुकुलो बन्दै गएपछि आन्तरिक पर्यटकको चाप बढ्न थालेकाले आउँदा दिन यो स्थल यस क्षेत्रको महत्त्वपूर्ण गन्तव्यस्थल बन्ने पोखरा महानगरपालिका–२२ का वडासदस्य मातृका बरालले बताउनुभयो ।

कोरोनाको डर हुँदा पनि सबैको साथ र सहयोगमा निर्माण कार्यले निरन्तरता पाउँदा महादेवको मूर्ति राख्न सम्भव भएको बताउँदै उहाँले बिस्तारै कोरोनाको प्रभाव कम हुँदै पर्यटनमा नवीनतम् आशा र विश्वास पलाएर जाने उल्लेख गर्नुभयो ।

समितिका अध्यक्ष एवम् निर्माण समितिका संयोजक चन्द्रकान्त बरालका अनुसार पुम्दीकोटका प्रचुर पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै विशाल महादेवको मूर्ति निर्माणका लागि अभियान थालिएको थियो । पोखराको मुख्य बजार क्षेत्रबाट झन्डै ३ किलाेमिटर दुरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ ।  

पुम्दीकोटमा मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरु महाराज आश्रम पनि निर्माण भइसकेका छन् । समितिले गुरुयोजनाअनुसार आउँदा दिन शान्ति आश्रम, सुमेरु पर्वत, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखेको छ । 

त्यस्तै शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर आदि पनि निर्माण गरिने जनाइएको छ । त्यस्तै मूर्ति परिसरमा गणेश, मनोरेल, १०८ धारा, पाँच फिट अग्लो शिवलिङ्ग स्थापना गरिने संयोजक बरालले जानकारी दिनुभयो । 

कोरोनाका बाबजुद पनि स्वास्थ्य सजगता अपनाइ दैनिक २०/२५ जनाले निरन्तर काम गरेका कारण मूर्ति राख्न सम्भव भएको समितिले जनाएको छ । यहाँबाट फेवातालसहितको पोखरा बजार, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमशृङ्खला एकसाथ देख्न सकिन्छ । चाँडै नै कोरोना कहर हट्ने र पर्यटनमा आशा जगाउने बरालले बताउनुभयो ।

तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा सात सय व्यवसायी आबद्ध छन् । यस व्यवसायमा पर्यटन व्यवसायीको आफ्नो लगानी ५० अर्ब रुपैयाँ छ भने बैंकको लगानी ७५ अर्ब छ । यस व्यवसायबाट १२ हजार दुई सय ९८ जनाले रोजगारी पाएका छन् । त्यस्तै रेस्टुरेन्ट तथा बारतर्फ एक सय जना व्यवसायी आबद्ध छन् । यसमा एक अर्ब रुपैयाँ व्यवसायीको आफ्नै लगानी छ भने तीन अर्ब बैंकको लगानी छ । ट्रेकिङ एजेन्सिजतर्फ एक सय ५९ व्यवसायी आबद्ध भएका छन् र यसमा व्यवसायीको आफ्नै ३२ करोड रुपैयाँ लगानी छ । यसमा ४२ करोड ९७ लाख ६० हजार रुपैयाँ बैंकको लगानी छ । यसबाट एक हजार दुई सय ७२ जनाले रोजगारी पाएका छन् । ट्राभल्स एजेन्सिजतर्फ एक सय ८१ जना व्यवसायी आबद्ध भएकामा उनीहरूको आफ्नै लगानी ७९ करोड ७५ लाख ५० हजार रुपैयाँ छ भने १८ करोड ६० लाख ९५ हजार बैंकको लगानी छ ।

पोखरामा पर्यटनमा आबद्ध प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट शप, इम्ब्रोडयरी एन्ड गार्मेन्ट शप, पर्यटक यातायात व्यवसायी, गाउँ पर्यटन, पर्वतारोहण आदिमा व्यवसायीको करौडौँ रुपैयाँ लगानी छ भने बैंकको लगानी पनि त्यत्तिकै रहेको छ । पोखरामा सबै किसिमका पर्यटन सम्बद्ध व्यवसायमा झन्डै २१ हजार जनशक्तिले रोजगारी पाएका छन् ।

कोरोना कहरका कारण व्यवसाय नै बन्द हुँदा यस क्षेत्रमा खटिने जनशक्तिलाई कसरी जोगाउने भन्ने चिन्ता छ ।

पोखराका साथै गण्डकी प्रदेशका विभिन्न जिल्लाका गाउँमा घरवास कार्यक्रमअन्तर्गत पनि ठूलै लगानी भइसकेको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताउनुभयो । कोरोनाको कहर बिस्तारै कम हुँदै जाने र पर्यटन क्षेत्र चलायमान हुने विश्वासका साथ गाउँ पर्यटनलाई प्रविधिमैत्री बनाउन पहल गरिएको उहाँले बताउनुभयो । 

प्रदेशमा सञ्चालित घरवास सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहयोग एवम् गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको संयोजनमा भर्खरै होमस्टे मोबाइल एप सेवा सञ्चालनमा ल्याइएको छ ।

प्रदेशभित्रका घरवासलाई अनलाइन प्रविधिमार्फत बुकिङ गर्न मिल्ने, पैसा तिर्न मिल्ने सुविधा एवम् सबै घरवासबारे बुझ्न मिल्ने गरी होमस्टे मोबाइल एप सञ्चालनमा ल्याएका हौँ, उहाँले भन्नुभयो ।

मोबाइल एप पहिलो चरणमा यो भिटोफ गण्डकी प्रदेशबाट सञ्चालन हुने र सम्बन्धित होमस्टे सक्षम भएपछि उनीहरूले नै सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । एपमार्फत अहिले ५० वटा होमस्टे बुकिङ गर्न मिल्ने छ भने अन्य दुई सय ५४ होमस्टेका विवरण त्यहीबाट जानकारी लिन सकिने छ । पोखराको पर्यटनलाई विसं २०७२ को विनाशकारी भूकम्पसहित त्यसयता भएका नाकाबन्दी, टर्किस एअरको जहाज दुर्घटना, अन्नपूर्ण क्षेत्रको हुदहुद आँधी, डेङ्गु, बर्ड फ्लु, बाढी पहिरोजस्ता धेरै घटनाक्रमले प्रभावित पारे पनि यति लामो समयसम्म प्रभावित भएको भने पहिलो पटक हो ।

पछिल्ला वर्षमा सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए भने सन् २०१९ मा ११ लाख ९७ हजार रुपैयाँ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० को भने सुरुवातदेखि नै कोरोना कहरका कारण पर्यटक आवागमन प्रभावित बनेको छ । नेपाल आउने पर्यटकमध्ये पोखरा क्षेत्रमा झन्डै ४० प्रतिशत आउने गरेका छन् । 

हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्य पोखरा वास बसेका थिए । त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही बनिसकेको पनि थिएन । त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएसँगै यहाँको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदा–जाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए । हिप्पी पर्यटकको आगमनपछि थलिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि बिस्तारै फस्टाउन थालेको हो । 

माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङ्कोट, विश्वशान्ति स्तूपा, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट, भरतपोखरीमा रहेकाे मल्लकालीन कोटभैरव जस्ता धेरै ठाउँ यहाँका पर्यटकीय आकर्षण हुन् । महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य हुन् ।

शीर्ष समाचार

धेरै पढिएको