August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

दैनिक २० घण्टा लोडसेडिङ भोग्दै हुम्लावासी

काठमाडौं–हुम्ला सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ। विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन। 

विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आएका छन्। 

विद्युतगृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको विद्युत् प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ।

दैनिक लामो समयको लोडसेडिङले सिमकोटमा सञ्चालित व्यवसाय समेत संकटमा परेका छन्। विद्युत् आपूर्ति नभएपछि फर्निचर, इलेक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ। 

विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पताल हुम्लालाई समेत समस्या भएको छ। दिउँसो विद्युत् आपूर्ति नभएपछि विद्युतको माध्यमबाट हुने काम ठप्प भएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्।

हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युतगृहमा पानीको स्रोत कम हुँदा दैनिक लोडसेडिङ समय बढिरहेको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए।

पानीको स्रोत कम भएपछि आयोजना नजिकको लाङ्दुखोलाबाट पानी ल्याएर मूल नहरमा मिसाउने कामका लागि बोलपत्र भएको तर काममा ढिलाइ भएका कारण पनि समस्या आएको उनले बताए

शीर्ष समाचार

धेरै पढिएको