काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा सानदार प्रदर्शन गर्दै ५०औँ जितको ऐतिहासिक कोशेढुङ्गा पार गरेको छ। कतारमा सञ्चालन भइरहेको राइजिङ स्टार्स एसिया कपअन्तर्गत आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो। जितका लागि पाएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो।
नेपाली टोलीका ओपनर कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै टिमको जितको आधार खडा गरे। उनले ५६ बल सामना गर्दै ६ चौका र एक छक्काको सहायतामा ५७ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै मयन यादवले २७ रन बनाए भने बसिर अहमद १८ रनमा अविजित रहे। यूएईका बलरहरू नेपाली ब्याटरहरूमाथि दबाब बनाउन पूर्ण रूपमा असफल रहे।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको यूएई नेपाली कसिलो बलिङ आक्रमणसामु ३९.५ ओभरमा १२१ रनमै अलआउट भएको थियो। यूएईका मोहम्मद शाहदादले ४० रन तथा हरप्रीत सिंह भाटियाले ३२ रन बनाउनुबाहेक अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्। नेपालका कप्तान सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै १० ओभरमा ३ मेडन राखेर केवल ११ रन दिँदै ३ विकेट चट्काए। बलिङमा कुशल भुर्तेलले ३ विकेट झार्दा नन्दन, रासिद र ललितले १-१ विकेट लिए।
उद्घाटन खेलमा भारत ‘ए’ सँग व्यहोरेको पराजयपछि दबाबमा रहेको नेपालले यूएईविरुद्धको यस जितसँगै प्रतियोगितामा महत्त्वपूर्ण दुई अंक जोडेको छ। ऐतिहासिक १००औँ ओडीआई खेललाई जितमार्फत उत्सवमय बनाएको नेपाली टोलीले अब आगामी मंगलबार समूह चरणको अर्को बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।


