काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनि छोइङ डोल्मालाई गरिएको नियुक्ति कानुन तथा विपरित भएको भन्दै सर्वोच्च अदालतमा बदरको मागसहित रिट निवेदन दर्ता भएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानका तर्फबाट अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
निवेदकहरूले आनि छोइङ डोल्माविरुद्ध नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसँग जोडिएका छानबिन एवं उजुरीहरू विचाराधीन रहेको अवस्थामा कोषको उपाध्यक्ष बनाइएको दाबी गरेका छन्। कानुनी स्पष्टता र स्वच्छता बिना नै राजनीतिक पहुँचका आधारमा विधि मिचेर गरिएको नियुक्तिले सार्वजनिक पदको मर्यादामाथि आँच पुर्याएको रिटमा उल्लेख गरिएको छ।
यसअघि नागरिक तहबाट उक्त नियुक्तिविरुद्ध निरन्तर खबरदारी गरिँदै आए पनि त्यसलाई बेवास्ता गर्दै डोल्माले कोषको कार्यभार सम्हालेकी थिइन्। विधिको शासनको खिल्ली उडाउँदै विवादास्पद छविका व्यक्तिलाई राज्यको महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक धरोहरको नेतृत्व सुम्पिनु संविधान र कानुनको भावनाविपरीत रहेको निवेदकहरूको ठहर छ।
सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा नियुक्तिको सम्पूर्ण निर्णय प्रक्रिया र कानुनी आधारहरूको परीक्षण गरी गैरकानुनी ठहर गर्दै तत्काल उक्त नियुक्ति बदर गर्न परमादेशको माग गरिएको छ। साथै, मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई उपाध्यक्षको हैसियतमा कुनै पनि प्रशासनिक तथा आर्थिक कामकारबाही गर्न नदिन अन्तरिम आदेशसमेत माग गरिएको छ।


