काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सदियौँ पुरानो बहुआयामिक सम्बन्धलाई आर्थिक समृद्धि र विकासको नयाँ युगमा लैजानुपर्ने आवश्यकता औँल्याएका छन्। भारतको औपचारिक भ्रमणका सिलसिलामा सोमबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले दुई देशको साझेदारी अब जनताको जीवनस्तर सुधार र युवाहरूका लागि रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताए।
आपसी सम्मान, दृढ विश्वास र निरन्तर सद्भाव नै द्विपक्षीय सम्बन्धको मजबुत जग भएको चर्चा गर्दै प्रधानमन्त्री शाहले प्राकृतिक विपद्का घडीमा भारतले देखाएको छिमेकी सद्भावको उच्च प्रशंसा गरे। उनले दुई देशबिच सम्पन्न प्रतिनिधिमण्डलस्तरीय छलफलबाट आगामी पुस्तालाई लाभ पुग्ने गरी विभिन्न महत्वपूर्ण सम्झौता र साझेदारीको मार्गचित्र तयार भएको जानकारी गराएका छन्।
नेपालमा लगानीमैत्री वातावरण बनेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भारतीय व्यवसायी तथा उद्योगीहरूलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे। दुई मुलुकका विभिन्न सहरहरूबीच सीधा हवाई उडान विस्तार गर्ने, नेपालमा प्रस्तावित आईआईटी क्याम्पस सञ्चालनमा ल्याउने तथा पर्यावरण संरक्षणका लागि साझा कदम चाल्ने विषयलाई उनले प्राथमिकताका साथ उठाएका छन्।
पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणका लागि हार्दिक निम्तो दिएका छन्। त्यसैगरी, विश्वशान्तिको मुहान लुम्बिनीसहित पशुपतिनाथ र मुक्तिनाथजस्ता पवित्र तीर्थस्थलहरूको आध्यात्मिक अनुभव लिन भारतीय पर्यटकहरूलाई नेपाल भ्रमणमा आउन उनले खुला आह्वानसमेत गरे।


