काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको भारतको राजकीय भ्रमणका अवसरमा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीस्तरीय द्विपक्षीय वार्तापछि आयोजित विशेष समारोहमा प्रशासनिक सुशासन, फरेन्सिक अनुसन्धान, आधुनिक स्वास्थ्य सेवा, कृषि, स्याटेलाइट प्रविधि र दिगो सहरी योजनालगायतका विषयमा समझदारी पत्र आदानप्रदान गरिएको हो।
सुरक्षा संयन्त्रको सबलीकरण र आधुनिक अपराध अनुसन्धानलाई प्राथमिकता दिँदै भारतको प्रतिष्ठित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (एनएफएसयू) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबिच शैक्षिक एवं प्राविधिक साझेदारी भएको छ। यसैगरी भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए)बिच सुरक्षा प्रशिक्षण सहकार्यसम्बन्धी समझदारी भएको छ। सार्वजनिक प्रशासनमा सुधार ल्याउन भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबिच निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम अघि बढाउने सम्झौता गरिएको छ।
नागरिकको स्वास्थ्य उपचार र परम्परागत चिकित्सा पद्धतिलाई सुदृढ गर्न दुवै देशका स्वास्थ्य मन्त्रालयबीच आधुनिक चिकित्सा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ भने आयुर्वेदिक उपचार तथा अनुसन्धानका लागि छुट्टै समझदारी पत्र तय गरिएको छ। यसका साथै ग्रामीण अर्थतन्त्र र किसानहरूको जीवनस्तर उकास्न पशुपालन तथा मत्स्यपालन क्षेत्रको आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि नेपाल र भारतबीच कृषि साझेदारी पत्रमा हस्ताक्षर भएको छ।
प्रविधि र सहरी पूर्वाधारका क्षेत्रमा दुई देशबीच भएको समझदारीलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। दक्षिण एसिया स्याटेलाइटको उच्चतम उपयोगमार्फत स्याटेलाइट सञ्चार (स्याटकम) सञ्जाल विस्तार गर्न भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपाल सरकारबिच सम्झौता भएको छ। यसका अतिरिक्त तीव्र सहरीकरणको व्यवस्थापन, पर्यावरणमैत्री पूर्वाधार र स्मार्ट सिटी विकासका लागि दिगो सहरी विकाससम्बन्धी प्राविधिक सहकार्यमा दुवै देश सहमत भएका छन्।


