काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल र डिजिटल माध्यमको अल्गोरिदमले समाजमा भ्रम र विकृति फैलाउने काम गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। राजधानीको टोखामा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ प्रविधिको गलत प्रयोगका कारण सामाजिक सद्भाव, परम्परागत संस्कार तथा राष्ट्रिय पहिचानमाथि प्रहार भइरहेको बताएका हुन्।
प्रविधिको तीव्र विकासलाई अस्वीकार गर्न नसकिने तर त्यसबाट निम्तिने विसङ्गति नियन्त्रणमा सबै पक्ष गम्भीर बन्नुपर्ने पोखरेलले स्पष्ट पारे। पपुलिजम तथा अराजक प्रवृत्तिका कारण वास्तविक मुद्दाहरू ओझेलमा परिरहेको भन्दै उनले अवसरवादी तत्वहरूबाट समाज र युवा पुस्तालाई सचेत राख्नुपर्ने आवश्यकता औँल्याए।
महासचिव पोखरेलका अनुसार सामाजिक सञ्जालमा भ्रमपूर्ण विषयवस्तु छिटो फैलिने प्रवृत्तिका कारण सामाजिक मूल्य–मान्यता संकटमा परेका छन्। डिजिटल युगको सकारात्मक सदुपयोग गर्दै समाजमा तथ्यपरक र सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि पोखे। मुलुकमा दैनिक उपभोग्य वस्तुको महँगी बढेको, जनताको जीवनस्तर खस्किँदै गएको र सरकारले जनसरोकारका विषयमा प्रभावकारी कदम चाल्न नसकेको टिप्पणी गर्दै उनले आर्थिक स्थायित्वका लागि नीतिगत सुधारको माग गरे।


