काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको असर रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ भने लुम्बिनी र अन्य पहाडी भूभागमा आंशिक बदली देखिएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा अन्य पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ। अपराह्नतिर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।
रातिको समयमा कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले हावाहुरी, मेघगर्जन र हिमपातको सम्भावनालाई ध्यानमा राखी दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
