तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल क्षमताभन्दा आधा मात्र विद्युत् उत्पादन गरिरहेको छ। नदीमा पानीको बहाव कम भएकाले औसतमा ३४ मेगावाट मात्रै उत्पादन भइरहेको केन्द्रका सहायक प्रबन्धक शेरमहमद हुसेनले जानकारी दिए।
उनका अनुसार हिउँ पग्लिन नथालेकाले मर्स्याङ्दी नदीमा पानीको बहाव घटेको हो। पुस महिनादेखि उत्पादन घट्न थालेको उल्लेख गर्दै उनले हिउँ पग्लिएपछि पुनः बहाव बढ्ने बताए।
परियोजनामा २३–२३ मेगावाट क्षमताका तीनवटा टर्बाइन रहेका छन्। यद्यपि साँझ र बिहानको पिकआवरमा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै उत्पादन भइरहेको छ। बिजुलीको उच्च माग हुने समयका लागि दिउँसो नदीको पानी रिजर्भ ट्याङ्कमा जम्मा गरेर प्रयोग गरिन्छ, सहायक प्रबन्धक हुसेनले बताए।
सन् १९८९ मा निर्माण सम्पन्न भएको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा वितरण हुँदै आएको छ।
