माओवादी-समाजवादी एकता : प्रचण्डले ‘माओवाद’ छोड्ने, नेतृत्व लिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि सैद्धान्तिक सहमति भएको छ । अब सांगठनिक संरचनामा छलफल केन्द्रित रहेको वार्ता टोलीका सदस्यहरूले बताएका छन् ।

माओवादी, समाजवादी र महिन्द्र राय यादवको समूहबीच पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

एकीकृत समाजवादीका वरिष्ठ नेता एवं उपाध्यक्ष बेदुराम भुसालले एकताका लागि आवश्यक पर्ने राजनीतिक, वैचारिक र सांगठनिक विषयमा करिब सहमति भइसकेकाले अब सांगठनिक संरचनाबारे छलफल केन्द्रित भएको बताए ।

एकीकृत पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड रहने सहमति भएको छ । माधव नेपाल दोस्रो वरियतामा रहने छन् भने अन्य नेताहरूको पद टुंग्याउन बाँकी छ ।

वार्तामा सहभागी ती नेताका अनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखेर समाजवादी मोडलको नाम राख्न सहमति बनेको छ । ‘नाममा समाजवादी केन्द्र विकल्पका रूपमा आएको छ,’ वार्तामा सहभागी एक नेताले बताए ।

नेकपा समाजवादी केन्द्र, नेकपा समाजवादी एकता केन्द्र, नेकपा वैज्ञानिक समाजवादीलगायत प्रस्तावित नाम छन् ।

सहमतिअनुसार माओवादीले नाम र सिद्धान्त माओवाद छाड्ने भएको छ । माओवादीले २०७५ मा एमालेसँग एकता गर्दा नै माओवाद छाडेको थियो ।

माओवादी नेतृ एवं वार्ता समितिका संयोजक रेखा शर्माले सकेसम्म पार्टीको विशेष महाधिवेशनअघि एकताको प्रयास भइरहेको बताइन् । ‘विशेष महाधिवेशनको तयारी र पार्टी एकताको गृहकार्य सँगसँगै भइरहेको छ,’ उनले भनिन् ।

माओवादीले आगामी मंसिरमा विशष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

झलनाथ–घनश्याम एकताको विपक्षमा
एकीकृत समावजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल भने एकताको विपक्षमा देखिएका छन् ।

खनाल र भुसालको ‘रिजर्भेसन’ भए पनि अध्यक्ष नेपाल बहुमत पदाधिकारीको समीकरणका आधारमा माओवादीसँग एकता गर्ने तयारीमा छन् । सचिवालय बैठकले माओवादीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको थियो ।

महासचिव घनश्याम भुसाल आ–आफ्नो पार्टी पुनर्गठन गरेर मात्र वामपन्थी ध्रुवीकरण गर्ने पक्षमा छन् । उनी माओवादी र समाजवादीको पुरानै नेतृत्वमा पार्टी एकता गर्नुको अर्थ नभएको निष्कर्षमा पुगेका छन् । माओवादीसँग हुने पार्टी एकता प्रक्रियामा उनी संलग्न छैनन् ।

‘यही नेतृत्व, यही पार्टी संरचना र यही विचारमा पार्टी एकता गरेर पनि केही हुँदैन,’ उनले भने, ‘पहिले आआफ्नो पार्टी र नेतृत्वको पुनर्गठन गरौं । त्यसपछि वामपन्थी ध्रुवीकरण गर्नुपर्छ ।’

यस्तै, सम्मानित नेता झलनाथ खनालले माओवादीसँगको एकता स्वीकार्य नभएको भन्दै उनले फरक मत सार्वजनिक गरेका हुन् ।

श्रीमती रविलक्ष्मीको उपचारका लागि भारतमा रहेका खनालले एक विज्ञप्ति जारी गर्दै ‘पार्टी एकीकरण गर्ने मौसम होइन र छैन’ भनेका छन् । जेन–जी आन्दोलनमा पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी थिइन् ।

पार्टी एकता अन्तिम चरणमा पुगेका बेला खनालले असहमति जनाउँदै सार्वजनिक विज्ञप्ति निकालेका हुन् । एकताका विषयमा छलफल गर्न काठमाडौंमा केन्द्रीय सचिवालय बैठक जारी रहेकै बेला खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका हुन् । ‘युवाहरूको जबर्जस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरूले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ,’ खनालले पठाएको पत्रमा उल्लेख छ । साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।

‘हरेक साना–ठूला पार्टीहरूमा र खुद जेन–जी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ,’ खनालले भनेका छन्, ‘पार्टी रूपान्तरण जनता, राष्ट्र, युग र समयको माग हो’ भन्दै उनले फगत पुस्तावादको माग मात्र नभएको उल्लेख गरेका छन् ।

‘सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो । त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन,’ खनालले भनेका छन्, ‘यति बेला हाम्रो पार्टीका निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौं ।’

२ भदौ २०७८ मा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । २०८१ असारमा भएको महाधिवेशनले नेपाललाई अध्यक्ष पदमा चयन गरेको थियो । २०७९ को आमनिर्वाचनमा प्रतिनिधिसभामा १० सिट ल्याए पनि राष्ट्रिय पार्टी बन्न सकेन ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा