मकवानपुर । बागमती प्रदेश सरकारले आन्तरिक आय वृद्धि गर्न र राजस्व सङ्कलन व्यवस्थित बनाउन कार्यदल गठन गर्ने भएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले राजस्व चुहावट रोकथाम, सङ्कलन व्यवस्थापन सुधार तथा कर दर र दायरा वैज्ञानिक बनाउन कार्यदल गठन गरी अध्ययन अघि बढाउने भएको हो ।
मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनालीका अनुसार प्रदेश सरकारलाई स्रोत साधनको अधिकतम उपयोग, कर नीति सुधार तथा आर्थिक प्रणाली मजबुत बनाउन कार्यदलले प्रतिवेदन तयार गर्नेछ ।
सचिव मैनालीले कार्यदलले सम्भावित कर संरचना सुधार, व्यापारिक गतिविधि प्रवर्द्धन, आन्तरिक राजस्व वृद्धिका उपाय र असंगठित क्षेत्रलाई औपचारिक बनाउन आवश्यक रणनीति सिफारिस गर्ने बताए ।
संघीय सरकारको कर नीति र आर्थिक निर्णयले प्रभावित हुने प्रदेश सरकारको बजेट संरचनालाई व्यवस्थित गर्न कार्यदलको प्रतिवेदन महत्त्वपूर्ण हुने जनाइएको छ ।
५ सदस्यीय कार्यदल गठन गरिने
प्रदेशको नीति तथा योजना आयोगको पहलमा कन्सल्ट्यान्ट संस्था मार्फत ५ सदस्यीय कार्यदल गठन गरी राजस्व र खर्चको विश्लेषण गरिनेछ ।
आयोगका उपाध्यक्ष गंगादत्त नेपालका अनुसार कार्यदलले आर्थिक सम्भावनाको खोजी गरी आगामी वैशाख १५ भित्र प्रतिवेदन पेश गर्नेछ ।
कार्यदलको संयोजक नेपाल सरकारका पूर्वसहसचिव किशोर जंग कार्की रहेका छन् । अन्य सदस्यहरूमा पूर्वसहसचिव लेखनाथ पंगेनी, अर्थविज्ञ डा. संजिव हुमागाईं, बैंकर गंगा सापकोटा र रिसर्चर प्रेम दवाडी छन् ।
उनीहरूले फागुन ७ बाटै कार्य प्रारम्भको अनुमति पाइसकेका छन् । कार्यदलको सेवा सुविधा र पारिश्रमिक कन्सल्टेन्ट संस्थाबाट व्यहोर्ने सहमति भएको छ भने अधिकतम ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
