एक-दुई न्यायाधीशमाथि महाभियोग लगाएर न्यायालय सुध्रिँदैन : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयको विद्यमान समस्या समाधान नहुने बताएका छन् । न्यायपालिकाको विश्वसनीयता कायम राख्न समग्र प्रणालीमै पुनर्गठन र बृहत् सुधार आवश्यक रहेको उनको भनाइ छ ।
आइतबार काठमाडौँमा कुरा गर्दै अध्यक्ष लिङ्देनले वर्तमान न्याय प्रणालीबाट जनताले न्यायको अनुभूति गर्न नसकेको भन्दै पुनर्नियुक्ति र पुनर्संरचनाको बहसलाई अगाडि बढाउनुपर्ने औंल्याए । ‘अहिलेको अवस्थाबाट न्यायालयले निकास पाउन सक्दैन, यसमा व्यापक सुधार र रूपान्तरण जरुरी भइसकेको छ,’ उनले भने ।
रास्वपाले न्यायाधीशमाथि महाभियोग लगाउने तयारी गरेको विषयमा टिप्पणी गर्दै लिङ्देनले अभियोगको तथ्य र कानुनी आधार हेरेर मात्रै राप्रपाले निर्णय लिने जानकारी दिए ।
‘महाभियोग व्यक्तिमाथि लक्षित हुने विषय हो, यसले मात्रै न्यायालय शुद्धीकरण हुन सक्दैन,’ लिङ्देनले स्पष्ट पारे, ‘संसद्मा के–कस्ता प्रमाण र अभियोगसहित प्रस्ताव आउँछ, त्यसमाथि पार्टीभित्र विस्तृत छलफल गरेर मात्र राप्रपाले आफ्नो स्पष्ट धारणा तय गर्नेछ ।’

प्रतिकृया दिनुहोस्