ब्लड बैंकहरूमा रगतको मौज्दात रित्तियो : जीवन रक्षाका लागि रक्तदान गर्न रेडक्रसको विशेष आग्रह
काठमाडौँ । बडादसैँलगत्तै अस्पतालहरूमा रगतको मौज्दात शून्यमा झरेपछि नेपाल रेडक्रस सोसाइटीले सर्वसाधारण तथा रक्तदाताहरूलाई आकस्मिक रक्तदानका लागि आह्वान गरेको छ। चाडपर्वका कारण रक्तदानका सामूहिक कार्यक्रमहरू हुन नसक्दा रगत आपूर्ति प्रणाली गम्भीर संकटमा परेको हो।
चाडपर्वको अवसरमा शिक्षण संस्था, बैंक तथा विभिन्न संघसंस्थाहरू बिदामा रहेकाले नियमित रक्तदान शिविरहरू सञ्चालन हुन सकेका छैनन्। यता राजधानीसहित देशभरका अस्पतालहरूमा दैनिक सयौँ बिरामीलाई रगत आवश्यक पर्ने हुँदा रगतको माग र आपूर्तिबीच ठुलो खाडल सिर्जना भएको छ।
केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार हाल ब्लड बैंकमा ‘ए’, ‘बी’, ‘ओ’ र ‘एबी’ सहित सम्पूर्ण रक्त समूहका होल ब्लड तथा रगतका विभिन्न तत्वहरू (पीआरबीसी र पीआरपी) को मौज्दात सकिएको छ। मौज्दात रित्तिँदा शल्यक्रिया कक्ष र सघन उपचार कक्ष (आईसीयू) मा रहेका बिरामीका आफन्तहरू रगत खोज्न भौँतारिनुपर्ने अवस्था आएको छ।
रेडक्रसले १८ वर्ष उमेर पार गरेका स्वस्थ नागरिक तथा अन्तिम पटक रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी दाताहरूलाई तुरुन्त रक्तसञ्चार केन्द्र पुगेर रक्तदान गर्न आग्रह गरेको छ। एउटा रक्तदानले कम्तीमा तीन जना बिरामीको जीवन जोगाउन सक्ने भएकाले संकटको घडीमा सबैलाई सहयोग गर्न आग्रह गरिएको छ।
रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले मानवीय संवेदनशीलतालाई दृष्टिगत गर्दै सम्पूर्ण युवावर्ग, क्लब, टोल सुधार समिति तथा सामाजिक संघसंस्थाहरूलाई तत्काल रक्तदानका कार्यक्रमहरू अगाडि बढाउन अनुरोध गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा फैलिएका आफ्ना रक्तसञ्चार केन्द्र र एकाइहरूमार्फत २४सै घण्टा सेवा प्रदान गरिरहेको महामन्त्री ऋषि खनालले जानकारी दिए।
रगतको आवश्यकता परेमा वा रक्तदान गर्न चाहेमा केन्द्रीय रक्तसञ्चार सेवा, काठमाडौँको सम्पर्क नम्बर ०१-५३८८४८५ र ०१-५३८८४८६ तथा टोल-फ्री हटलाइन नम्बर ११३० मा सम्पर्क राख्न सकिने व्यवस्था मिलाइएको छ। यसका अतिरिक्त रक्तसञ्चारसम्बन्धी ताजा विवरणका लागि गुगल प्लेस्टोरबाट ‘NRCS BTS’ मोबाइल एप्लिकेसन प्रयोग गर्न सकिने सोसाइटीले जनाएको छ।

प्रतिकृया दिनुहोस्