चालु आवको पहिलो त्रैमासिकमा १३५ परिवारले पाए लालपुर्जा, देशभर १,९४७ कित्ताको नापी सम्पन्न
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १३५ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सार्वजनिक गरेको पहिलो त्रैमासिक प्रगति समीक्षा प्रतिवेदनमा उक्त विवरण सार्वजनिक गरिएको हो ।
भूमि समस्या समाधान समिति ताहाचलमार्फत साउन १ देखि असोज मसान्तसम्मको अवधिमा वितरण गरिएका पुर्जाहरूमध्ये ८३ थान अव्यवस्थित बसोबासी, ४१ थान भूमिहीन सुकुम्बासी र ११ थान भूमिहीन दलित परिवारलाई प्रदान गरिएको छ ।
समितिको विद्युतीय सूचना प्रणालीमा यस अवधिमा भूमि समस्या समाधानका लागि देशभरबाट ५१ हजार ५ सय १७ थान निवेदन प्रविष्ट भएका छन् । जसमा अव्यवस्थित बसोबासीका ३१ हजार ३१७, भूमिहीन सुकुम्बासीका ८ हजार ८३, भूमिहीन दलितका ७ हजार ७० र विगतका अधुरा कार्य फछ्र्यौटसम्बन्धी ५ हजार १२७ निवेदन रहेका छन् ।
यस त्रैमासिक अवधिमा देशभर १ हजार ९ सय ४७ कित्ता जग्गाको नाप नक्सा कार्य सम्पन्न भएको छ । साथै, काठमाडौँ उपत्यकाभित्रको भूमिहीन समस्या समाधानका क्रममा भक्तपुर नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरी वास्तविक लगत संकलन प्रक्रिया द्रुत गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्