October 28, 2026, Wednesday
KN hd tv

बाढी-पहिरो र भारी वर्षाको जोखिम : स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन

काठमाडौँ । मौसममा आउने प्रतिकूल परिवर्तन र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभरका स्वास्थ्य संयन्त्रहरूलाई उच्च सतर्कतामा रहन र पूर्वतयारी तीव्र पार्न निर्देशन दिएको छ। स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूलाई परिपत्र गर्दै प्रतिकार्य योजना तत्काल कार्यान्वयनमा ल्याउन भनेको हो।

जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले कात्तिक १२ गतेदेखि १४ गतेसम्म देशका विभिन्न भूभागमा चट्याङ र हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुनसक्ने प्रक्षेपण गरेको छ। विपद्का कारण उत्पन्न हुनसक्ने जनस्वास्थ्य सम्बन्धी चुनौतीलाई सामना गर्न स्वास्थ्य क्षेत्रको तयारी चुस्तदुरुस्त राख्न निर्देशन दिइएको हो।

एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्र अनुसार कुनै पनि आकस्मिक अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी २४सै घण्टा आपत्कालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्न र सम्पर्क नम्बर सार्वजनिक गर्न भनिएको छ।

यसैगरी, प्रत्येक प्रदेशका हब तथा स्याटेलाइट अस्पतालहरूसँग निरन्तर समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (इएमटी), आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तम्तयार राख्न आग्रह गरिएको छ। विपद्को समयमा स्वास्थ्य सेवा तथा औषधि आपूर्तिमा कुनै अवरोध नआओस् भन्नका खातिर अत्यावश्यक औषधि, उपकरण तथा एम्बुलेन्स सेवाको अद्यावधिक सूची तयार पार्न निर्देशन दिइएको छ।

घाइते नागरिकहरूलाई तत्काल अस्पताल पुर्‍याउन एम्बुलेन्स प्रेषण केन्द्रसँग शीघ्र र प्रभावकारी समन्वय गर्नुपर्ने बताइएको छ। साथै, स्वास्थ्य अवस्था र घटनाहरूको तथ्यांक दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत केन्द्रमा पठाउन अनिवार्य गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको