November 1, 2026, Sunday
KN hd tv

रास्वपा सचिवालय बैठक : मधेसको समस्या समाधान गर्न प्रतिवेदन पेस, टोली चीन भ्रमणमा जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक शनिबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सम्पन्न भएको छ । बैठकमा मधेस प्रदेश र विभिन्न जिल्लाहरूमा देखिएका समस्या समाधानका लागि गठित अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

पार्टीका सहमहामन्त्री हरि ढकालको नेतृत्वमा गठित कार्यदलले मधेस अडिट पूरा गरी तयार पारेको प्रतिवेदन सचिवालयमा पेस गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उक्त प्रतिवेदनमा औंल्याइएका सुझाव र समस्याका आधारमा पार्टीले मधेस प्रदेशमा संगठन विस्तार तथा सुदृढीकरणका ठोस कार्यक्रमहरू अघि बढाउने निर्णय गरेको छ ।

यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाको एक प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने भएको छ । सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीका नेताहरू सम्मिलित प्रतिनिधिमण्डल चीन जाने प्रवक्ता खरेलले बताएका छन् । भ्रमणले दुई मुलुकबिचको जनस्तरको सम्बन्ध तथा आपसी सहकार्यलाई थप बलियो बनाउने विश्वास पार्टीले लिएको छ ।

बैठकमा देशको वर्तमान राजनीतिक परिदृश्य, पार्टीको भावी कार्यदिशा र आगामी संगठनात्मक योजनाहरूबारे समेत छलफल भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको