देशलाई संकटबाट मुक्त गर्न आन्दोलनको विकल्प छैन, सरकार बेलगाम फासीवादतर्फ गयो : अध्यक्ष ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नागरिकका आधारभूत स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनता रक्षाका लागि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने बताएका छन्। देशलाई दिशाहीन अवस्थाबाट जोगाउन जनता आफैँ सचेत हुनुपर्ने उनको जिकिर छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित शपथ ग्रहण समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले देशमा कोही पनि बोल्न नसक्ने गरी राज्य आतंक सिर्जना गरिएको र कानुनी राज्यको उपहास भइरहेको दाबी गरे। सरकार गुण्डाराज र निरंकुश फासीवादतर्फ अग्रसर भएको आरोप लगाउँदै उनले यस्तो अवस्था लामो समयसम्म टुलुटुलु हेरेर बस्न नसकिने चेतावनी दिए।
‘अहिले देशले स्वतन्त्रताको उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित पारिएको छ,’ ओलीले अगाडि भने, ‘मुलुकलाई कम्तीमा स्वाधीनता र सार्वभौम अधिकारको सहज प्रयोग गर्न सक्ने स्थितिमा पुर्याउनु अहिलेको मुख्य आवश्यकता हो।’
ओलीले एमालेको मूल लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको दोहोर्याउँदै संकटको सामना गर्ने सामर्थ्य एमालेसँग मात्र रहेको दाबी गरे। पार्टीपंक्ति सही नीति, दृढ विचार र अनुशासनमा बाँधिएर जनताको घरदैलोमा पुगेमा एमालेप्रति जनविश्वास थप प्रगाढ बन्ने उनको विश्वास थियो।
समारोहमा एमालेको केन्द्रीय कमिटीमा मनोनीत हुनुभएका नेताहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीलाई अध्यक्ष ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईसहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्