सेयर बजारमा बैंकिङको दबदबा : नेप्से ३१ अंकले उकालो लाग्दा साढे ८ अर्बको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजारमा दोहोरो अंकको सुधार कायम रहेको छ। वाणिज्य बैंकहरूतर्फ लगानीकर्ताको उच्च आकर्षण देखिँदा नेप्से परिसूचक ३१.५४ अंकले बढेर २,६९५.६० को उचाइमा पुगेको हो।
परिसूचक वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य उछाल आएको छ। दिनभर कुल ३५० कम्पनीका २ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर खरिद-बिक्री हुँदा कारोबार रकम ८ अर्ब ५७ करोड ९ लाख रुपैयाँ पुगेको छ। यसले बजारमा लगानीकर्ताहरूको आत्मविश्वास निरन्तर बढ्दै गएको पुष्टि गर्दछ।
आजको कारोबारमा वाणिज्य बैंक समूह २.२८ प्रतिशतले वृद्धि हुँदै बजारको प्रमुख सारथि बन्यो। त्यस्तै होटल तथा पर्यटन र अन्य उपसमूहमा २.०५ प्रतिशतको बढोत्तरी देखियो भने फाइनान्स र विकास बैंक उपसमूह पनि क्रमशः १.६९ र १.५५ प्रतिशतले उकालो लागेका छन्।
दिनभर १८१ कम्पनीका लगानीकर्ताले नाफा कमाउँदा ९१ कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ। बेनी हाइड्रोपावरको सेयर मूल्यमा १५ प्रतिशतको वृद्धि हुँदा स्वाभिमान लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, नेपाल फाइनान्स र एनआइसी एसिया बैंकका लगानीकर्ताहरू उच्च कमाउनेमा परेका छन्।
कारोबार रकमका हिसाबले घलेम्दी हाइड्रोपावर ३५ करोड ६१ लाख रुपैयाँसहित अग्रस्थानमा रहँदा वाणिज्य बैंकहरूतर्फ सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र कुमारी बैंकमा २४ करोडभन्दा माथिको कारोबार भएको छ।

प्रतिकृया दिनुहोस्