इनम प्रकरण तातिएपछि राजनीतिक सरगर्मी : प्रधानमन्त्रीपछि रवि लामिछानेले भेटे सभामुख
काठमाडौँ । बिचौलिया इनम सापकोटाको न्यायिक तथा राजनीतिक वृत्तमा देखिएको कथित साँठगाँठको विषयलाई लिएर राजनीतिक माहौल गर्माएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुगेर सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।
सभामुखको निजी कार्यकक्षमा भएको उक्त भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बताइएको छ। यद्यपि, भेटमा दुई नेताबीच मात्रै कुराकानी भएकाले संवादको विस्तृत एजेन्डा गोप्य राखिएको सभामुखको सचिवालयले जनाएको छ।
सभापति लामिछानेले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो संवाद गरेका थिए। प्रधानमन्त्रीसँगको भेटवार्तालगत्तै बिहीबार सभामुखसँग भेट हुनुलाई राजधानीको राजनीतिक वृत्तमा निकै अर्थपूर्ण र रणनीतिक कदमका रूपमा विश्लेषण गरिएको छ।
न्यायालयका उच्च पदाधिकारीदेखि प्रमुख नेताहरूसँग बिचौलियाको विवादास्पद सम्बन्ध सतहमा आएपछि संसद् र सरकारको भूमिकालाई लिएर विभिन्न कोणबाट बहस सुरु भएको छ। यस्तो पृष्ठभूमिमा संसद्को नेतृत्व र प्रमुख दलका सभापतिबीचको छलफलले थप चासो जन्माएको छ।

प्रतिकृया दिनुहोस्