October 31, 2026, Saturday
KN hd tv

मौसममा व्यापक फेरबदल: यी प्रदेशमा मेघगर्जन र भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेष तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका अधिकांश भूभागमा मौसम बदली रहनुका साथै वर्षा र हिमपातको क्रम सुरु भएको छ। हाल सक्रिय रहेको यो मौसमी प्रणालीका कारण जनजीवन प्रभावित बन्ने देखिएको छ भने अपराह्नपश्चात यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।

शनिबारको मौसमी अवस्था अनुसार कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि चट्याङसहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ। रातिको समयमा भने अधिकांश स्थानमा बादल लागी हिमाली भेगमा मध्यम वर्षा तथा हिमपातको र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना कायम रहनेछ।

यो विशेष मौसमी प्रणालीले हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम बढाएको छ भने पहाड र तराईका केही स्थानमा पहिरो जान सक्ने खतरा रहेको छ। धानबाली भित्र्याउने बेला भएकाले कृषि कार्य प्रभावित हुन सक्ने र यसले हवाई तथा सडक यातायातका साथै दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ।

आगामी केही दिनमा मौसम क्रमिक रूपमा सुधार हुँदै गए पनि आइतवार र सोमवारदेखि देशका अधिकांश स्थानमा आंशिक बदली रहने र बिहानको समयमा तराईका केही भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। तसर्थ, उच्च हिमाली क्षेत्रका पर्यटकहरूलाई सुरक्षित स्थानमा रहन र सर्वसाधारण तथा किसानहरूलाई मौसमको अवस्था बुझेर मात्र आवश्यक कृषि तथा दैनिक गतिविधि अगाडि बढाउन सुझाव दिइएको छ।

शीर्ष समाचार

धेरै पढिएको