काठमाडौं– विराटनगर महानगरपालिकाकी पूर्व उपप्रमुख इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसँगै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो।
मोरङको विराटनगर महानगरपालिका, वडा नम्बर १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको आरोपमा उनीहरुलाई भ्रष्टाचार मुद्दा लगाइएको हो।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो. इफतेखार आलम, पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरे पनि उक्त कार्यमा संलग्न पाइएको बताइएको छ।
गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेश गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेर स्वीकृत गरी भुक्तानीसमेत दिइएको बताइएको छ।
उनीहरुले १० लाख ५५ हजार ९७९ हानी पुर्याएको भन्दै बिगोसहित कैद र बिगो बमोजिम जरिवाना गरी असुलउपर गर्न माग गरिएको छ।
