काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।
बिहीबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पास गरेको हो।
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा ५ वटा दफामा संशोधन भएको थियो। त्यसमा दफा २ नेपाल प्रहरीले अनुसन्धान गर्ने विषयमा अध्यागमन सम्बन्धी कसुर रहेको थियो।
अध्यागमनको कार्य नेपाल प्रहरीबाट नै हुनुपर्ने गरी विधेयक पास गरिएको समितिकी सचिव बविता मिश्रले बताइन्। उनले काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत संघीय प्रहरीले गर्नेगरी विधेयक समितिबाट पास गरिएको जानकारी दिइन्।
समिति सचिव मिश्रले नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरु रहने बताइन्।
उनले भनिन्, ‘दफा ४ मा १० क थप गर्ने भन्ने भन्ने प्रस्ताव ल्याइएको छ–दुईवटा। जसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ भन्ने र अर्को नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरीअन्तर्गतका प्रहरी कार्यालयहरु रहनेछन्, भन्ने सन्दर्भमा यसमा यो दफा बमोजिमको कार्य सम्पादन गर्न प्रदेश प्रहरीसँग समन्वय गरिनेछ भन्ने संशोधन राखेर यसलाई पनि समितिबाट पास गरिएको छ।’
