दशौँ राष्ट्रिय खेलकुद : पहिलो दिन ४ स्वर्ण जित्दै बागमती शीर्ष स्थानमा, आर्मी र पुलिस पनि पदक होडमा

spot_img

काठमाडौँ । कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पहिलो दिनको प्रतिस्पर्धामा बागमती प्रदेशले पदक तालिकामा अग्रता लिएको छ। मङ्गलबारदेखि सुरु भएका प्रारम्भिक चरणका विभिन्न खेल विधामा कुल ११ स्वर्णका लागि भएको रोमाञ्चक भिडन्तमा बागमती प्रदेश सर्वाधिक स्वर्ण पदक जित्दै पहिलो स्थानमा रहन सफल भएको हो।

नतिजाअनुसार बागमती प्रदेशले ४ स्वर्ण, २ रजत र ३ कांस्य गरी जम्मा ९ पदक आफ्नो खातामा पारेको छ। एनआरएनएले उत्कृष्ट खेल प्रदर्शन गर्दै ३ स्वर्ण र १ कांस्यसहित तालिकाको दोस्रो स्थान ओगट्न सफल भएको छ भने त्रिभुवन आर्मी क्लब २ स्वर्ण, ५ रजत र १ कांस्य पदकसहित तेस्रो स्थानमा सुरक्षित भएको छ।

यसैगरी नेपाल पुलिस क्लबले १ स्वर्ण, २ रजत र ६ कांस्य गरी ९ पदक जित्न सफल भएको छ भने कोशी प्रदेशले १ स्वर्ण पदक हासिल गरेको छ। सुदूरपश्चिम प्रदेशले २ रजत पदक जितेर आफ्नो खाता खोलेको छ। पहिलो दिन पौडी, टेनिस, बास्केटबल, क्रिकेट र फुटबललगायतका खेलमा खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरेका छन्।

३२ खेल विधा समावेश रहेको दशौँ राष्ट्रिय खेलकुदमा सातै प्रदेश, तीन सुरक्षा निकायका विभागीय टोली र प्रवासको एनआरएनए टोलीबिच उपाधि भिडन्त जारी छ। मङ्सिर १६ गते कर्णाली प्रदेश रंगशालामा भव्य उद्घाटन हुने यो प्रतियोगिता मङ्सिर २७ गते समापन हुने कार्यतालिका रहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा